११ कार्तिक २०८१, आइतबार 1730038176
समाचार

एकल महिला र उनीहरुका छोराछोरीलाई क्यान्सर रोगको उपचारमा छुट दिइने

काठमाडौं । एकल महिला (विधवा) र उनीहरुका १८ वर्ष मुनीका छोराछोरीलाई क्यान्सर रोगको उपचारमा ललितपुरको हरिसिद्धिस्थित ‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने सहमति भएको छ ।

आज अस्पताल र मानव अधिकारका लागि महिला, एकल महिला समूहबीच समझादारीपत्रमा सम्झौता भएको हो । समूहको केन्द्रीय कार्यालय, छहारी भवन, बुढानीलकण्ठमा भएको कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठ र समूहका अध्यक्ष कविता पाँडेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । एकल महिला समुहमा देश भरिमा करिब ८० हजार सदस्य छन् । यो सुविधा देश भरिका एकल महिला समुहका सदस्यले पाउने छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं समूहका संस्थापक अध्यक्ष लिली थापाको उपस्थितिमा भएको कार्यक्रममा अस्पतालले अर्बुद रोगमा ‘वेलनेस प्याकेज’ अन्तर्गत समूहका सदस्यलाई उपचारमा छुट दिने अस्पतालका सञ्चालक सदस्य स्वरुपा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अर्बुद भएर निको भएकाहरुलाई देख्दा अरुलाई पनि उत्प्रेरणा हुने भएकाले यो रोग  लाग्दैमा मरिँदैन भन्ने जागरण फैलाउन आग्रह गर्नुभयो । बुढानीलकण्ठका नगर पालिकाका मेयर मीठाराम अधिकारीले विपन्न, असाहाय र गरिब परिवार र विरामीलाई नगरपालिकाका तर्फबाट पनि स्वास्थ्य सेवामा विशेष सहयोगका कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

कार्यक्रममा अर्बुद रोग(क्यान्स) लागेर निको भएकी एकल महिला प्रतिमा विष्टले सुरुमा रोग लागेको थाहा पाउँदा दुःख लागे पनि छिटो उपचार गरेको कारणले आफुलाई एक बर्षमा नै निको भएको बताइन । तर क्यान्सर रोगको उपचार एकदमै मंहगो भएको बताइन । उनले ‘श्रीमान् बितेको र परीक्षामा अनुत्तिर्ण भएका जस्ता दुःख जीवनमा खेपियो तर स्तनमा क्यान्सर भयो भन्दा खप्न गाह्रो भयो । किमो चढाएपछि कपाल त कुखुराको प्याँखजस्तो पुर्लक पुर्लक झर्दाे रहेछ ।’ उक्त समूहका दुई कर्मचारी यसअघि यही रोगका कारण निधन भइसकेको जानकारी दिदै सस्थाकी अध्यक्ष कविता पाण्डेले यो एकल महिलाका लागी एउटा सानो प्रयास हो । तर सहाय र गरिब एकल महिलाका लागि राज्यको तर्फबाट उपाचारमा बिशेष छुटको ब्यबस्था हुनु पर्ने बताइन । त्यसका लागि केन्द्र देखि स्थानिय सरकार समुहका तर्फबाट छलफल भइरहेको पनि बताइन ।