काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षीया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ९३ वर्षीया गङ्गालक्ष्मी श्रेष्ठलाई उहाँकै निवासमा नागरिकताको प्रतिलिपि प्रदान गरेको हो ।
विसं १९८६ भदौ ७ गते जन्मनुभएकी श्रेष्ठले विसंं २०४४ फागुन ५ गते नागरिकताको प्रमाणपत्र लिनुभएको थियो ।
सो नागरिकता हराएपछि उनले एकाघरका परिवारमार्फत प्रशासनमा नागरिकताको प्रतिलिपिको लागि आवेदन दिएकी थिइन् ।
श्रेष्ठको स्थायी ठेगाना तत्कालीन बालकुमारी गाविस– ८ रहेको छ भने हाल उहाँ मध्यपुरथिमि–३ गठ्ठाघर बस्दै आएकी थिइन् ।
श्रेष्ठ स्वयम् कार्यालयमा उपस्थित भएर नागरिकताको लागि सनाखत गर्न नसक्ने भएकाले उहाँकै निवासमा पुगेर नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तालगायत राज्यले दिने अन्य सेवा सुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था आउने भएकाले असाह्य, असक्त, दीर्घरोगी, शारीरिक अस्वस्थता र अपाङ्गगताका कारण प्रशासनमा उपस्थित हुन नसक्ने नागरिकलाई घरदैलोमा नै सरकारी सेवा उपलब्ध गराउने नीतिअनुरुप प्रशासनले त्यस्ता नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको सहायक प्रजिअ निरौलाले बताए ।
श्रेष्ठलाई नागरिकता प्रदान गर्न सहायक प्रजिअ निरौलासहित नागरिकता फाँटका कर्मचारी श्रेष्ठ निवासमा पुगेका थिए ।