११ कार्तिक २०८१, आइतबार 1730030884
राजनीति

एमालेका लागि सत्ता चासोको विषय होइनः महासचिव पोखरेल

धनगढी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले मुलुकभर  डेंगु  र लम्पी स्किन फैलिरहे पनि रोकथाम र नियन्त्रणका लागि कुनै काम गर्न नसकेको बताउनुभएको छ । नेकपा एमाले कैलालीद्वारा आज धनगढीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै पोखरेलले दाहाल नेतृत्वको गठबन्धन सरकार सत्ता टिकाउन मै केन्द्रित रहेको बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनु पर्छ भन्ने पक्षमा एमाले अडिग रहेको बताउँदै ललिता निवास प्रकरण लगायत सबै केसको छानबिन गर्न आवश्यक रहेको बताउनुभयो । 

वर्तमान सरकार यी सबै केसमा कतै न कतै संलग्न देखिएकाले उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै महासचिव पोखरेलले एमालेका लागि अहिले सत्ता प्राथमिकतामा नरहेको बताउनु भयो  । भेलालाई सम्बोधन गर्नु हुँदै उहाँले यति वेला एमाले जनता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउनु भयो । 

प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ ।”

महासचिव पोखरेलले एमालेमाथि चौतर्फी आक्रमण र घेराबन्दी गरिएको भन्दै एमालेमाथिको घेराबन्दी जनताको साथ लिएर तोडिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली जनताले उज्यालो भविष्य खोजेका छन्, त्यो एमाले हो भन्ने बुझेका छन्, त्यसैले सबै नेता कार्यकर्ता मिसन ८४ मा केन्द्रित भएर अघि बढ्नु पछ, सबै कार्यकर्ताहरू एकमत भएर यो घेराबन्दी तोड्नै पर्छ ।’

भेलालाई सम्वोधन गर्नुहुँदै एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले मिसन ८४ मा केन्द्रित रहेर एकताबद्ध, सुदृढ, सशक्त भएर अघि बढ्न नेताकार्यकर्तालाई आग्रह गर्नु भयो ।