११ कार्तिक २०८१, आइतबार 1730060238
Banner

महाकाली नदीले बगाउँदा बाबु–छोरा बेपत्ता

बैतडी– नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सीमा बजार झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका पाँच वर्षीय छोरा तनुज चन्द रहेका छन् ।  

महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युबसहित पौडी खेलिरहेका बाबु–छोरा अपराह्न बगेर बेपत्ता भएका सशस्त्र प्रहरी बल, नेपाल नं ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले जानकारी दिनुभयो । दिनदिनै ट्युब खेल्ने बाबु–छोरा शुक्रबार भने एक्कासि नदीमा बगेको भन्ने खबर आएको पुजाराले बताउनुभयो । 

“नदी नजिकै घर रहेका उनीहरू दिनदिनै महाकालीमा ट्युबसहित खेल्दा रहेछन्, आज एक्कासि नदीमा पानीको बहाव बढेपछि उनीहरू बगेका भन्ने खबर छ”, उहाँले भन्नुभयो । 

 उहाँका अनुसार घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन । बेपत्ता दुवै जनाको खोजीका लागि नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं ५१ गुल्म हेडक्वार्टर बैतडीले जनाएको छ ।