१० कार्तिक २०८१, शनिबार 1729994990
पालिका

पूर्व मेयर विद्यासुन्दर शाक्यले भने, ‘टुकुचा छ भन्ने हामीलाई पहिल्यै थाहा थियो, बालेनले कसरी पत्ता लगाए ?’

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले वर्तमान मेयर बालेन्द्र शाहले टुकुचा खोला भत्काएर व्यवस्थित गर्न नसकेको अरोप लगाएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा संवाद गर्दै उनले डिपिआर तयार नै नभई टुकुचा खोल्दा भद्रगोल भएको बताए । उनले टुकुचा कसरी बनाउने र कसरी व्यवस्थित गर्ने भन्ने कसैसँग पनि योजना नरहेको बताए ।

मेयर शाहले टुकुचा पत्ता लगाए भनेर मिडियाहरुमा समाचार आउँदा आफूलाई हाँसो उठेको उनको भनाई छ । टुकुचा छ भन्ने कुरा आफूलाई पहिला नै थाहा भएको उनले ब्यङ्ग्य गरे ।

‘मैले पनि सुने समाचारमा टुकुचा पत्ता लगायो भनेर हेडिङ राखेर धेरै समाचार आयो । मलाई हाँसो पनि उठ्यो, त्यो टुकुचा थियो भनेर पहिलादेखि नै मलाई थाहा थियो । कसरी पत्ता लगायो ?’– उनले प्रश्न गरे ।

साथै देश विदेशबाट टुकुचा हेर्न आएको भनेर गलत प्रचार गरिएको उनको भनाई छ । ‘फिल्मको सुटिङजस्तै गाडीबाट मान्छे ओसारेको त होईन’ भन्ने उनले आशंका पनि व्यक्त गरे ।

‘विदेशबाट, जिल्ला जिल्लाबाट हेर्न आयो भनेका छन्, कहाँको मान्छे आयो ? गाडीबाट ओसार्यो कि ? गाडीबाट ओसारेर अहिलेकाही फिल्मको सुटिङजस्तै गाडीबाट मान्छे ओसार्छ, सुटिङ सकाउँछ र फेरि ठाउँमै ल्याएर छोड्दिएको जस्तै को हो त त्यहाँ हेर्न आउने ? विदेशबाट को आयो पहिचान छ ? टुकुचा हेर्नलाई विदेशबाट कोही काठमाडौं आउँछ ?’– उनले प्रश्न गरे ।