काठमाडौं । बैतडीको एक विद्यालयमा आगजनी गरिएको छ । दशरथचन्द नगरपालिका–६, थालिगडास्थित कालिका माविमा अज्ञात समूहद्वारा आगजनी गरिएको हो ।
कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको थियो ।
“बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए,” उनले भने, “आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायत महत्त्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।”
आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिइएको विद्यालयले जनाएको छ ।
यस्तै, विद्यालयनजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा चोरी गरिएको छ । पसलबाट नौ हजार ३०० रुपैयाँबराबरको सामानको चोरी भएको छ ।
विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । रासस