९ मंसिर २०८१, आइतबार 1732448211
अर्थ

महासंघका अध्यक्ष ढकाल र इन्डोनेसियाका राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत हेरु हार्तान्तो सुबोलोबीच भेटवार्ता भएको छ । महासंघको सचिवालय टेकुमा बुधवार भएको भेटवार्तामा दुई देशबीचको आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको महासंघले जनाएको छ । उक्त अवसरमा अध्यक्ष ढकालले इन्डोनेसिया सरकारले नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुनःस्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरेका थिए ।

इन्डोनेसियाले कोभिड महामारीदेखि नेपालीहरूलाई दिँदै आएको अन अराइभल भिसा रोकेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतसमेत रहेका ढकालले नेपाल र इन्डोनेसियाबीच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणका लागि राजदूतलाई आग्रह समेत गरेका छन् ।

उक्त अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसकालागि इन्डोनेसिया सरकारसँग कुराकानी गर्ने बताएका छन् ।