९ कार्तिक २०८१, शुक्रबार 1729865748
Banner

आयोगद्वारा निर्वाचनमा मौन अवधि नराख्न प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा मौन अवधिको व्यवस्था नहुने प्रस्ताव गरेको छ ।

बुधवार प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगले बनाएको कानुनको मस्यौदामा मौन अवधि नराखिएको बताए ।

उनले भने– ‘अब बन्ने कानुनमा मौन अवधिलाई हटाइएको छ । त्यसको सट्टामा मतदान हुने समयभन्दा २४ घण्टा अगाडि चुनाव प्रचार प्रसार गर्न नपाइने प्रावधान राखिएको छ ।’
समितिको बैठकमा मौन अवधिमा चुनाव जित्नका लागि व्यापक मात्रामा पैसाको चलखेल हुने बताएका थिए । जसले धेरै पैसा बाँड्छ उसले चुनाव जित्ने अवस्था रहेकोले मौन अवधिको समय राख्न नहुनेमा उनीहरुले जोड दिएका थिए ।

आयोगका प्रमुख आयुक्त थपलियाले हाल कायम रहेको कानुनहरूमा रहेको व्यवस्था भन्दा एकीकृत निर्वाचन कानुनको मस्यौदामा ५७ वटा बुँदामा नयाँ कानुनी व्यवस्था गरिएको बताए । उनले सो कानुन संसदबाट पारित भएमा निर्वाचन आयोग अहिलेको अवस्थामा भन्दा निकै बलियो हुने बताए ।

संसदले १ वर्षभित्रमा सो विधेयक पास गरेमा मात्र आयोगले नयाँ कानुन अनुसार २०८४ मा निर्वाचन गराउन सक्ने अन्यथा त्यसको तयारीका लागि समय नपुग्ने समेत जानकारी दिए । आयोगले तयार पारेको सो एकीकृत निर्वाचन कानुनको मस्यौदा हाल गृह मन्त्रालयमा अध्ययनको क्रममा रहेको छ ।