१२ मंसिर २०८१, बुधबार 1732701600
Uncategorized

तयारी नपुगेको भन्दै एमाले महोत्तरीले सार्यो जिल्ला अधिवेशन, ६ पालिकामा अझै भएन अधिवेशन

नेकपा (एमाले) महोत्तरीको जिल्ला अधिवेशन सरेको छ ।

२३ पुसमा एकैपटक जिल्ला अधिवेशन तय भए पनि महोत्तरीमा भने तयारी नपुग्ने भन्दै ५-६ माघका लागि सारिएको हो ।

६ पालिकामा अझै अधिवेशन हुन नसकेकाले जिल्ला अधिवेशन सारिएको केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी मगरले जानकारी दिए । क्षेत्र नम्बर १ र ३ मा सम्पन्न भए पनि २ र ४ मा विवाद कायमै रहेको एमाले महोत्तरीका सचिव सीताराम झाले जानकारी दिए ।

नेतृत्वका लागि आकांक्षी धेरै भएकाले सहमतिको प्रयास गरिएको छ ।

प्रतिनिधि चयनमा पनि आफूखुसी निर्णय लिएको भन्दै अहिले पनि एमालेभित्र ठूलो विवाद छ । एकता प्रक्रियाबाट आएका पूर्व माओवादीले आफूखुसी निर्णय लिएको संस्थापन पक्षले आरोप लगाउँदै आएको छ ।

एमालेको १०औँ  महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित टेकबहादुर बलाम्पाकी,  जनप्रतिनिधि तथा वडाध्यक्ष फाल्गुन सुस्लिङ्ग मगर पूर्वमाओवादी हुन् ।

जिल्ला अधिवेशनमा पनि रस्साकस्सी हुने देखिएको छ । महाअधिवेशन प्रतिनिधिमा असन्तुष्ट पक्षले जिल्ला अधिवेशनमा पनि आफूखुसी गरे एमाले महोत्तरीमा थप विवाद बढनसक्ने र अर्को पक्षले फाइदा लिने जिल्लाका कतिपय नेताको आँकलन छ ।

जिल्ला पाटीभित्रको विवाद समाधानका लागि जिल्लास्थित नेताहरुले केन्द्रीय सदस्य तथा पोलुटब्युरो सदस्य रामदयाल मण्डललाई अगाडि सारेका छन् ।