९ मंसिर २०८१, आइतबार 1732430588
फिचर

सीपले बदलियो गृहिणीको जीवनशैली

ढोरपाटन : गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणी बताउँछन् । महिलाले स्विटर उद्योगलाई ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नाम दिएका छन् ।

अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताउनुभयो । गलकोट–२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की हिजोआज घर छेउको स्वीटर उद्योगमा भेटिनुहुन्छ । दुई वर्ष अगाडिसम्म पशुचौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराख्नुभएको छ । उहाँसँगै नरेठाँटीका सातजना महिला यही उद्योगमा काम गर्छन् । उद्योग सञ्चालनमा आएपछि अहिले सातै जनाले अरुको काम गर्नु नपरेको बताउँछन् । स्वरोजगार बनेपछि दैनिकी र जीवनस्तर बदलिँदै गएको उहाँहरुको भनाइ छ ।

सावित्राले पाँच दशक बढीको उमेर चुलोचौको र मेलापातमा बिताउनुभयो । पचास नाघेपछि उद्यमी बन्दा उहाँ खुसी हुनुहुन्छ । कुनै सीप नहुँदा जीवनकालमा निकै कष्टकर दिन बिताएको सम्झना सावित्राको मानसपटलमा अझै ताजा छ । काममा व्यस्त हुन थालेपछि पुराना दिनलाई विस्तारै भुल्दै गएको सावित्रीको भनाइ थियो । उद्योगमा हरेक दिन आफू जस्तै महिलाले काम गर्ने भएकाले दैनिकी सहज बन्दै गएको उहाँले बताउनुभयो । गलकोट–२ को वडा कार्यालय नजिकै रहेको स्विटर उद्योगमा केही १८-२० वर्षका युवती छन् भने कोही पाका महिला छन् । युवादेखि पाकासम्मका महिलालाई उद्यमसँग जोड्न नगरपालिकाले भूमिका खेलेको छ । पालिकाले तालिम दिएर सीप सिकाएपछि उद्यमी बनेका महिलाले अब अरुको काम गर्नु नपर्ने सुनाउँछन् । सावित्राले परिवार चलाउनका लागि रात दिन अरुको काम गरेको स्मरण गर्दै अहिले आफूलाई अनुकूल समय निकालेर काम गरिरहेको बताउनुभयो । उहाँले सबैभन्दा ठूलो सीप रहेको भन्दै सीप भएपछि कुनै पनि व्यक्तिले दुःख पाउन नपर्ने बताउनुभयो । नगरपालिकाले गृहिणी महिलाका लागि ठूलो अवसर दिएपछि आयआर्जनसँग जोडिन थालेको सावित्रीको भनाइ थियो । अहिले आफै मालिक भएर काम गर्दा गौरवको अनुभूति भएको उहाँले अनुभव सुनाउनुभयो । “पहिले अरुको काम गर्नुपथ्र्यो । अरुको काम गरेर पैसा पाउन निकै गाह्रो हुन्थ्यो । परिवारको खर्चका लागि मेलापात गर्नुको विकल्प थिएन”, उहाँले भन्नुभयो, “अहिले सीप सिकेपछि दुई÷चार पैसा कमाउन गाह्रो छैन ।

आफ्नै व्यवसाय छ । आफै काम गर्ने आफै कमाउने भएका छौँ ।” महिला उद्यमीकी संयोजक खड्काथोकीले नगरपालिकाले दिएको स्विटर बुन्ने तालिमले आफूहरुको जीवनस्तरमा परिवर्तन गराइदिएको बताउनुभयो । तालिम पश्चात् उद्योग परीक्षणकालमा रहे पनि व्यवसाय फस्टाउँदै गएको उहाँले बताउनुभयो । यहाँ महिला तथा पुरुषका लागि स्विटर, विद्यार्थीका लागि पोसाक, गलबन्दि, टोपीलगायतका सामग्री उत्पादन गर्ने भन्दै बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन हुने खड्काथोकीले दाबी गर्नुभयो । बजारको भन्दा सस्तोमा यहाँबाट उत्पादित सामान उपलब्ध गराउन सक्ने उहाँको भनाइ थियो । व्यवसाय सञ्चालन गरेको एक वर्षमै धेरै ठाउँबाट उत्पादनको माग आएको भन्दै मागअनुसार पु¥याउन नसकेको खड्काथोकीले जानकारी दिनुभयो । उद्योग सञ्चालनमा अधिकांश लगानी नगरपालिकाले गरेको भन्दै यहाँ आवद्ध महिलाले प्रतिव्यक्ति पचास हजार लगानी गरेका उहाँले बताउनुभयो । उहाँका अनुसार कच्चापर्दाथ बुटवल र काठमाडौँबाट ल्याउने भएकाले समस्या भएको छैन । संयोजक खड्काथोकीले उद्यमले गृहिणीको आर्थिक अवस्थालाई बलियो बनाउन थालेको बताउनुभयो । पहिले अरुको काम गर्दा दिनको रू पाँच सय कमाउने गरेकामा अहिले रू एक हजारदेखि रू बाह्र सयसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । “सीप नहुँदा मैले पनि अरुको काम गर्थेँ । अरुको काम गर्दा पैसा लिन नै समस्या थियो । अहिले नगरपालिकाले सीप सिकाएपछि हामीहरु उद्यमी बनेका छौँ । यहाँ बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन गरिरहेका छौँ । तुलनात्मक रुपमा यहाँ सस्ता पनि पर्छ”, खड्काथोकीले भन्नुभयो, “अहिले माग बढिरहेको छ । मागअनुसारको उत्पादन पु¥याउन सकिएको छैन । उत्पादन गर्ने ठाउँमै आएर किन्ने धेरै हुनुहुन्छ ।

उद्योगमा हामी आफूलाई मिल्ने समयमा आएर काम गर्छौँ । अहिले मासिक रू ३०÷३२ हजार कमाउनलाई गाह्रो छैन ।” सोही ठाउँको सुस्मिता नेपालीले आर्थिक अवस्था कमजोर भएकाले १० पढ्दापढ्दै बीचमै पढाइ छोड्नुप¥यो । पढाइ छोडेर गाउँमै केही गर्ने लक्ष्य राख्नु भएकी सुस्मिताले नगरपालिकाले दिएको स्विटर बुन्ने तालिम लिएसँगै अहिले उहाँ पनि अन्य महिलासँग मिलेर उद्यम सुरु गर्नुभएको छ । उद्यमले अहिले आर्थिक अवस्था सुधारहुँदै गएको उहाँले बताउनुभयो । नेपालीले दैनिक उद्योगमा आएर ग्राहकले माग गरेका कपडा बुन्ने गरेको सुनाउँदै आफूहरुले उत्पादन गरेका सामग्रीलाई धेरैले रुचाएको बताउनुभयो । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गृहिणीलाई स्वरोजगार बनाउने योजनाअन्तर्गत दुई वर्ष अगाडि तालिम दिएर उद्यमी बनाइएको जानकारी दिनुभयो । पछिल्लो समय धेरै गृहिणी विदेश पलायन हुनथालेपछि गाउँ रित्तिन थालेको भन्दै उनीहरुलाई गाउँमै रोक्न सीप सिकाएर व्यवसायसँग जोडेको उहाँको भनाइ थियो । नगरपालिकाले तालिमसहित करिब रू सात लाख बराबरको मेसिन सहयोग गरेको भन्दै उद्योगका लागि घर पनि पालिकाले नै व्यवस्थापन गरिदिएको प्रवक्ता भण्डारीले बताउनुभयो । “सुरुमा तालिम लिने दिदीबहिनी धेरै हुनुहुन्थ्यो । व्यवसाय गर्न चाहीँ सात जनाले मात्रै थाल्नुभयो । उहाँहरु अहिले आत्मनिर्भर बन्दै जानुभएको छ । सात जनाले भए पनि यहाँ रोजगार पाउनुभएको छ”, उहाँले भन्नुभयो, “अझै उद्योगमा धेरै कामदारको आवश्यकता परेमा उद्योग विस्तार गर्दै लगे धेरैले रोजगार पाउने छन् ।”