९ मंसिर २०८१, आइतबार 1732482971
समाचार

पर्यटन मन्त्री किराँतीको पुत्ला दहन

काठमाडौँ । राप्रपा नेपाल आबद्ध जनवर्गीय सङ्गठनहरूले काठमाडौँमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् ।

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन् ।

मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किराँतीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नु पर्ने उनीहरूको भनाई छ । संस्कृति मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेहरू देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

पार्टीका जनवर्गीय सङ्गठनहरूले आज साङ्केतिक रुपमा विरोध प्रदर्शन गरेका छन् । मन्त्री किराँतीले तत्काल राजीनामा नदिए यो विषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनी दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजीनामा नदिए आन्दोलनले चर्को रूप लिने बताए ।