काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा विप्लव समूहसहित चार दल सहभागी समाजवादी मोर्चाले संयोजकमा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मोर्चाको बैठकले हाल संयोजकको जिम्मेवारीमा रहनुभएका नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिनुभयो । त्यसैगरी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेत्रविक्रम चन्द विप्लव तथा उपेन्द्र यादवविरुद्धको मुद्दाबारे भएका राजनीतिका सहमतिहरू न्यायालयसमक्ष जानकारी गराउने निर्णय गरेको छ ।
राजनीति र अदालतको कार्यशैली फरक पर्ने तर राजनीतिक मुद्दाका विषयमा दलहरूबीच भएका सम्झौता सरकारलाई तथा न्यायालयलाई जानकारी गराउने सहमति भएको हो । पछिललो समय प्रधानमन्त्रीकै विरुद्धमा अदालतमा मुद्दा विचाराधीन छ । उपेन्द्र यादवको विरुद्धमा पनि मुद्दा छ । केही दिनअघि विप्लवको विरुद्धमा मुद्दा रहेको र गिरफ्तार गर्न आदेश पनि आएको थियो । चरणचरणामा सरकारले गरेको सहमति तथा सम्झौता कार्यान्वयनका लागि अनुरोध गर्ने मोर्चाको निर्णय छ । बैठकले माघको पहिलो हप्तामा अन्तक्र्रिया र दोस्रो हप्तामा सहिद दिवसका अवसरमा पनि कार्यक्रम गर्ने निर्णय गरेको छ । सम्भव भएका जिल्लामा सन्देशसभासमेत गर्ने र मोर्चाको सङ्गठन विस्तार हुन बाँकी रहेका जिल्लामा पुस मसान्तसम्ममा गठन गरिसक्ने मोर्चाले निर्णय गरेको छ ।