काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार महानगरपालिकाले भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धेरै मानिसहरुको संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनःनिर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेको बताउनुभयो । उहाँले विद्यालयको पुनःनिर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताउनु भयो । उहाँले भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्ने पनि बताउनुभयो ।
उहाँले आगामी दिनमा विपद्बाट जोगिनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भूकम्पबाट हाम्रो देश धेरै नै जोखिममा छ । हाम्रो देश भूकम्पको जोखिममा विश्वमा ११ औं नम्बरमा पर्छ । त्यो भनेको नेपालमा कुनैपनि बेला भूकम्प आउन सक्छ । त्यसका लागि महत्वपूर्ण पाटो सबै सधैँ तयार हुनुपर्छ । पूर्वतयारीलाई काठमाडौँ महानगरले प्राथमिकतामा राखेको छ ।