काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित बनेपा नगरपालिकाका वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले बनेपा ९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि उनले घुस लिएको अख्तियारले जनाएको छ । उनलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
अख्तियारले वडाध्यक्ष बादेसँगै आएका बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका–७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।