काठमाडौं । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजद्वारा आयोजित दुई दिने ‘ह्वाइट हाउस लिटरेचर फेस्टिबल’ सम्पन्न भएको छ । काठमाडौंको तिनकुने सुविधानगरमा रहेको हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजले युवा विद्यार्थीहरूलाई शिक्षाका साथै साहित्य, संगित र राजनीतिमा समेत अब्बल बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त फेस्टिबलमा विभिन्न बिषयमा बहस र छलफल भएको थियो ।
कार्यक्रमको पहिलो दिन पुर्व प्रधानमन्त्री डा. बाबुराम भटटराई, गायक प्रकाश सपुत, वैज्ञानिक युवा सांसद सिके राउत, सिनेकर्मी दिया मास्के, संगितकार गैरे सुरेशले आफना भनाइ राखेका थिए साथै पत्रकार दिपक सापकोटा, वसन्त बस्नेतले मोडरेटरको भुमिका निभाएका थिए ।
त्यस्तै दोस्रो दिनको कार्यक्रममा आज मुख्य वक्क्ताका रुपमा युवा नेता तथा राजनीतिज्ञ प्रदिप पौडेल, मिलन पाण्डे रहेका थिए भने चर्चित कलाकार स्वस्तिमा खड्का, गायिका मेनुका पौडेलको सहभागिता रहेको थियो । इन्डियन आइडलमा सहभागि भएर केही दिन अघिमात्र स्वदेश फर्किएकी मेनुकाले भारतमा गरेको संघर्ष र सफलताको कथा युवा विद्यार्थीहरू माझ राखेकी थिईन । कार्यक्रममा पत्रकार दीपक सापकोटा र पत्रकार दिपा दाहालले मोडरेटरको भुमिका निभाएका थिए ।
फेस्टिभलको आयोजक समेत रहेको हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज शिक्षा क्षेत्रमा हिमाल जस्तै उच्च र अटल छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज २३ वर्षअघि स्थापना भएको हो । यस कलेजले म्यानेजमेन्ट र टेक्नोलोजीको क्षेत्रमा गुणस्तरीय शिक्षा दिएर छुट्टै छाप छोड्न सफल भएको छ ।