२ जेष्ठ २०८३, शनिबार 1778911821
Banner

वैदेशिक रोजगारमा जानेबाट लाखौँ ठगी गर्ने तीन पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार २६ वर्षीय पुरमान भन्ने फरमान हवारीले निरज सेन्चुरी समेत चार जनालाई दुबई जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ७० हजार रुपियाँ हुने भनी पीडितहरूबाट पटक-पटक गरी ११ लाख ६६ हजार रुपियाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।

स्थायी घर बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ८ भई हाल काठमाडौँ बस्ने हवारीलाई कागेश्वरी मनहरा नगरपालिका गोठाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, क्रोएसिया पठाउने भनी आठ लाख रुपियाँ रकम लिई सम्पर्क विहीन भएका ३२ वर्षीय हिराजन पन्त पक्राउ परेका छन् ।

प्रहरीका अनुसार स्थायी घर तनहुँ ब्यास नगरपालिका – १० भई हाल काठमाडौँ सामाखुसी बस्ने पन्तले समीर आचार्यलाई क्रोएसिया जान नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्याकिङको काममा मासिक तलब एक लाख ५० हजार हुने भनी प्रलोभनमा पारेका थिए । यसैगरी, मलेसिया पठाउने भनी दुई लाख दश हजार रुपियाँ लिई सम्पर्क विहीन बनेका ३७ वर्षीय अस्मिता कार्की पक्राउ परेका छन् ।

प्रहरीका अनुसार स्थायी घर सिन्धुली कमलामाई नगरपालिका – ११ भई हाल काठमाडौँ गोकणेश्वर बस्ने कार्कीले कान्छा बल समेत तीन जनालाई मलेसिया जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब ६० हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए ।