५ आश्विन २०८१, शनिबार 1726907553
Banner

दरबार हत्याकाण्ड भएको आज २३ बर्ष पुरा, अझै खुलेन रहस्य

काठमाडौं । नारायणहिटी दरबारमा हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।

पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का लगायत राजपरिवारका १० जना सदस्यको गोली प्रहार गरी हत्या भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तर बेलाबेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ । यद्यपि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन ।