५ कार्तिक २०८१, सोमबार 1729557569
अर्थ

आइएमई ग्रुपले मौलाकाली हिलमा चारतारे रिसोर्ट बनाउँदै

काठमाडौं । आइएमई ग्रुपको लगानीमा मौलाकाली हिलमा चारतारे स्तरको रिसोर्ट निर्माण भइरहेको छ । निर्माणाधीन रिसोर्ट आउँदो कात्तिक सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ । निर्माणाधीन रिसोर्ट मौलाकाली केबुलकार लिमिटेडको दोस्रो परियोजना हो। केबुलकार २०८० वैशाख १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आइसकेको छ ।

होटल परियोजनाको ५४ प्रतिशत वित्तीय प्रगति भएको छ । केबुलकारको माथिल्लो स्टेशनसँगै बनिरहेको होटलमा ६५ कोठाका साथै ब्याङवेट हल, स्विमिङ्ग पुल र रेष्टुरेन्ट रहने छ । रिसोर्ट परियोजना नबलपरासीको गैंडाकोटमा छ । रिसोर्ट निर्माण उन्नत चरणमा छ ।

केबुलकार र रिसोर्ट परियोजनाको अनुमानित कूल लागत १ अर्ब ९० करोड ३० लाख रुपैयाँ रहेको छ । रिसोर्टमा मात्रै ९३ करोड ७० लाख रुपैयाँ लगानी हुने छ । प्रतिकोठा लागत १ करोड ४० लाख रुपैयाँ रहेको छ । सडक पहुँचको अवस्था कमजोर भएकाले वर्षाको समयमा निर्माण सामग्री आपूर्ति कम हुन्छ । जसले होटल निर्माणलाई प्रभावित पार्न सक्छ । वरपरको क्षेत्र मुख्यतया भरतपुर र सौराहामा धेरै होटलहरु भएकाले मौलाकालीमा निर्माण भइरहेको रिसोर्टले पनि प्रतिस्पर्धाको सामना गर्नुपर्ने अवस्था छ । यसले कम्पनीको नाफामा असर गर्ने संभावना छ ।

काम सुरु भएको १४ महिनामा केबुलकार परियोजना सम्पन्न भएको थियो । यसअघि केबुलकार पूर्वाधार बनाउन १ अर्ब ११ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा निर्धारित समयभन्दा अगावै सम्पन्न भएको थियो । कूल लागतको १३ प्रतिशत अर्थात १५ करोड रुपैयाँ लागत घटेको कम्पनीले जनाएको छ ।

केबुलकार सञ्चालन भइरहेकाले कम्पनीको वित्तीय अवस्थामा सुधार भइरहेको छ । २०२४ को १० महिनामा मौलाकालीको अपरेसन प्रोफिट मार्जिन ६३ प्रतिशत देखिएको छ । विकासकर्ता मौलाकाली केबुलकार लिमिटेडले १ अर्ब ५३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

मौलाकाली मन्दिरसम्म १।२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । केबुलकारमार्फत बटम स्टेसनबाट टप स्टेसनसम्म पुग्न करिब ५ मिनेटको समय लाग्छ । केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज भएको छ ।

त्यसैगरी, ग्रुपको मुख्य लगानी राजधानीको डिलक्स रिसोर्टसहितका चन्द्रागिरीमा केबुलकार सञ्चालन भइरहेको छ ।

ग्रुपद्वारा प्रवद्र्धित रुपन्देहीको बुटवल बजारदेखि पाल्पाको बसन्तपुर सम्म लुम्बिनी केबुलकार सञ्चालन भइरहेको छ । चन्द्रागिरि केबलकार चढेर गएपछि भालेश्वर मन्दिरको दर्शन गर्न पाएजस्तै लुम्बिनी केबलकार चढेर दुर्गा माता र मौलाकालिका केबलकार चढेर मौलाकालिका मन्दिरको दर्शन गर्न पाइने छ । अध्यक्ष ढकालले धार्मिक स्थलमा केबलकार र होटल निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्न लागि परेका छन् ।

मौलाकाली केबुलकारले १० महिनामा ९ करोड ८० लाख रुपैयाँ कारोबार गरेको छ । सञ्चालनमा आएको पहिलो वर्ष केबुलकारले २ अर्ब ४० करोड रुपैयाँ मात्र व्यापार गरेको थियो । केबुलकारको व्यापार बढ्दै गएको देखिएको छ । मौलाकाली केबुलकारमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको लगानी रहेको छ । कम्पनीले साधारण सेयर निष्कासन गर्दैछ ।