२ कार्तिक २०८१, शुक्रबार 1729296114
Banner

त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको खोजी वाटर ड्रोनमार्फत गरिंदै

काठमाडौँ । असार २८ गते नारायणी नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य सुरु भएको छ । र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउंछ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुली नदिमा खसेको थियो । दुई बसमा ६५ जना यात्रु सवार थिए भने ३ जनाले हाम फालेर ज्यान जोगाउन सफल भएका थिए ।

६२ जना यात्रुको अवस्था अझै अज्ञात छ । नेपाल सरकारले हिजो बिहानै देखि खोजी कार्य गरेपनि हालसम्म न बस फेला परेको छ न बसमा सवार यात्रुहरु नै फेला पर्न सकेका छन् ।