४ आश्विन २०८१, शुक्रबार 1726821972
Banner

नेपाल निर्मित मुनाल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सघाउने, सम्झौतामा भयो हस्ताक्षर

काठमाडौं । भारतको विदेश मन्त्रालय र आइएसआरओको वाणिज्य शाखा न्यू स्पेस इन्डिया लिमिटेडले नेपाल निर्मित मुनाल स्याटेलाइट प्रक्षेपणका लागि सहयोग गर्ने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरेको मन्त्रालयद्धारा सार्वजनिक गरिएको आधिकारिक विज्ञप्तिमा उल्लेख छ । मुनाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा नेपालमा विकसित गरिएको स्वदेशी उपग्रह हो ।

अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन) र नेपाली अन्तरिक्ष स्टार्टअपले नेपाली विद्यार्थीहरूलाई यो भूउपग्रहको डिजाइन र निर्माणमा सहयोग गरेको छ । उपग्रहले पृथ्वीको सतहको वनस्पति घनत्व र डाटाबेस निर्माण गर्ने लक्ष्य राखेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमओयूमा एमईएका सहसचिव अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका थिए । कार्यक्रममा नास्टका सचिव रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका प्रवक्ता सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन) का संस्थापक आभास मास्केलगायतको उपस्थिति थियो ।

सातौं संयुक्त आयोगको बैठकको सहअध्यक्षताका लागि विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा उनले जनवरी ४ मा एनएआइएल र नास्टबीच भएको मुनाल स्याटेलाइटको प्रक्षेपण सेवा सम्झौताको आदानप्रदान गरेका थिए । यो स्याटेलाइट एनएसआइएलको पोलर स्याटेलाइट प्रक्षेपण वाहनमा छिट्टै प्रक्षेपण हुने अपेक्षा गरिएको विज्ञप्तिमा भनिएको छ । पृथ्वीको सतहको वनस्पति घनत्व डाटाबेस निर्माण गर्ने लक्ष्य राखेको मुनाल स्याटेलाइट नेपालमा नास्टको सहयोगमा विकसित गरिएको उपग्रह हो । नेपाली स्टार्टअप एपीएनले नेपाली विद्यार्थीहरूलाई स्याटेलाइटको डिजाइन र निर्माणमा सहयोग गरेको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो स्याटेलाइट छिट्टै एनएसआईएलको पोलार स्याटेलाइट प्रक्षेपण वाहनमा प्रक्षेपण हुने अपेक्षा गरिएको छ ।’