काठमाडौं-नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ।
सोमबार बिहान सहरी विकास मन्त्रालयमा उपप्रधान एवं सहरी विकासमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता भएको हो। भेटमा मिस्रीले उपप्रधानमन्त्री सिंहलाई बधाइ र कार्यकाल सफलताको शुभकामना दिनुभयो।
भेटमा शहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमती लगायतका नदीको स्वच्छताका विषयमा नेपाल–भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ।
सचिव मिस्री आइतबार बिहान नेपाल आइपुग्नु भएको हो । उहाँले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गर्नुभएको थियो। उहाँ आजै स्वदेश फर्कनुहुनेछ।