७ आश्विन २०८१, सोमबार 1727086477
Banner

सरुवा बढुवाका लागि मन्त्री र नेताहरुलाई नभेट्नुस् : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । ललितपुरमा बुधबार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम—२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे । उनले पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरु बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिए । उनले आफूलाई असल राष्ट्रसेवक प्रमाािण्त गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए ।

उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकुल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको आदेश भन्दा पनि कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए ।

उनले भने, ‘राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने यदाकदा त्यस खालका प्रवृत्तिहरु पनि देखा पर्ने गर्दछन् । सेवाग्राही टाइसुट लगाएर आएको होला, चश्मा, कोट लगाएर आएको होला । झुत्रे झाम्रो पोशाकमा आएको होला । त्यो सबैप्रति समान व्यवहार गर्न सिक्नुपर्नेछ । त्यो सेवाग्राहीले कस्ता समस्या लिएर आएको छ, उसका अपेक्षाहरु जायज, नाजायज के छन् ।

त्यसलाई बुझेर यथोचित ढंगले सम्बोधन गर्ने भन्दा पनि रुखो, तीतो र टर्रो व्यवहार गर्ने प्रवृत्ति पनि यदाकदा देखा पर्दछन् । आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ । जो सुकै किन नहोस्, हरेक सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र उसले सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकुल परिस्थिति निर्माण गर्ने काममा ध्यान जानुपर्छ ।

यहाँहरुले विषयको आधारमा नो भन्न सक्नुपर्छ । विषयको आधारमा एस भन्न सक्नुपर्छ । नो भन्न सक्नुहुन्न भने तपाईं आफ्नो हाकिमको साम्नेमा, आदेश, त्यो भन्दा माथिको आदेश, यदाकदा मन्त्रीको आदेश आउला । त्यो आदेश कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएको छ भने त्यस्तो अवस्थामा नो भन्न सक्नुपर्छ । यो मिल्दैन, म गर्न सक्दिन भन्न सक्नुपर्छ । हाकिम, मन्त्रीसँग डराउनु हुन्छ भने असल राष्ट्रसेवक बन्न गाह्रो हुन्छ । तपाईं डराउने दुई, तीन वटामा हो ।

तपाईंले सम्पादन गर्ने काम कानूनसँग बाझिएको छ की छैन, त्यसमा डराउनुपर्छ, आम नागरिक र राष्ट्रहितसँग बाझिने छ भने डराउनु पर्छ । हाकिम र मन्त्रीसँग विषयको आधारमा सही र गलत भन्नसक्ने त्यो सामथ्र्य हुनुपर्छ ।’

उपप्रधानमन्त्री पौडेलले सरुवा/बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे । उनले सरुवा/बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरु राख्न आग्रह गरे । उनले सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भएपनि निरिह र कमजोर हुने बताए । उनले उनीहरु राष्ट्रको सेवा भन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए ।

उनले भने, ‘अहिले पछिल्ला दिनहरुमा हामीले केही गम्भीर चुनौतिको सामना गरिरहेका छाैँ । राजश्व परिचालनका दृष्टिकोणले हामीले लक्ष्य भेदन गर्न अफ्ठ्यारो परिरहेको छ । बेरुजु बढिरहेको छ । लेखा प्रणालीमा हामी दुरुस्त हुन सकिरहेका छैनौँ । महालेखा परीक्षण कार्यालयका सामुन्नेमा लेखा परीक्षणका अनगिन्ति एजेण्डाहरु थपिएका छन् । पोस्टिङ जस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्कहरु राख्नुहोला ।

तर नेता, मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु होला । सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भएपनि उनीहरु वास्तवमा निरिह र कमजोर हुन पुग्छन् । उनीहरु राष्ट्रको सेवा भन्दा पनि जसको सोर्समा पदस्थापन, बढुवा, सरुवा हुन्छन्, उनीहरु अनुगृहित हुने स्थिति सिर्जना हुन्छ । त्यो बाटो नहिँड्नु होला ।’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरुमा केही गम्भीर चुनौतिको सामना गरिरहेको बताए । राजश्व परिचालनका दृष्टिकोणले लक्ष्य भेदन गर्न अफ्ठ्यारो परिरहेको र बेरुजु बढिरहेको बताए । लेखा प्रणालीमा दुरुस्त हुन नसकिरहेको बताए ।