७ आश्विन २०८१, सोमबार 1727111274
अर्थ

यती एयरलाइन्ससँगको सहकार्यमा ‘एनआईसी एशिया स्काई क्लब कार्ड’ सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एशिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ ।

बैंकका अनुसार भिसा सह–ब्रान्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा बैंकका सम्पूर्ण ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्सबीच समझदारी भएको छ ।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त हुने पनि बैंकले जनाएको छ । यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ ।

साथै, उक्त कार्डको प्रयोग गरे वापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो कार्ड लिनका लागि ग्राहक महानुभावहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन् । यस साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्न सकिने बैंकले जनाएको छ ।