३ आश्विन २०८१, बिहिबार 1726786732
पालिका

धार्मिक, ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिएका छौँ : योगेश कुमार खड्गी

काठमाडौँ । काठमाडौँ महानगरपालिका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र धेरै छन् । २०७२ सालको भूकम्पले पनि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पादामा क्षति गरेको थियो । यसको संरक्षण र प्रवद्र्धनमा काठमाडौँ महानगरपालिका २७ नम्बर वडा कार्यालय खटेको छ ।

‘हामी असनलगायतका क्षेत्रमा भएका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा लागेको छौँ,’ वडाध्यक्ष योगेश कुमार खड्गीले बताए । यो वडामा ढलको निकास तथा व्यवस्थापन समस्या रहेको थियो । तर, अहिले विकास निर्माण गर्ने क्रममा यो वडामा जमिनमाथिको भन्दा जमिनमूनिको कामलाई प्राथमिकता दिएको वडाध्यक्ष खड्गी बताउँछन् । ‘असन, भोटाहिटी, कमलाक्षी क्षेत्रमा ढल राख्ने काम सकिएको छ । त्यसमाथि अब चार इन्चीको ढुंगा विछ्याउने छौँ,’ उनले भने, ‘काठमाडौँ छिर्ने आठवटा ढोकामध्ये कमलाक्षीमा एउटा सिंह ढोका थियो । यसलाई नेवारीमा ढोकासी भनिन्थ्यो । यसमा सिंहको प्रतिमा पनि राखिसकेको छ ।’

सय वर्ष अगाडि नै असनका तुलाधारहरुले ल्हासाको व्यापार गर्दा फर्केर बस्ने क्वारेन्टाइन असनमा बनाइएको थियो । ल्हासाबाट फर्केपछि १५ दिन क्वारेन्टाइनमा बसेरमात्र आफ्नो घर जाने गर्थे । अहिले ती क्वारेन्टाइनको संरक्षण गर्ने कार्य भइरहेको वडाध्यक्ष खड्गीले जानकारी दिए । ‘सय वर्ष अगाडिका सम्पदाको संरक्षण गर्ने कार्य सुरु भइसकेको छ । क्वारेन्टाइनसँगै गणेश मन्दिर, नारायण मन्दिर, उमा महेश्वर मन्दिरको पुननिर्माण भइरहेको छ,’ उनले भने । महाबौद्धको बिहारको संरक्षण तथा सौन्दर्यता बनाउने गरी काम भइरहेको उनले बताए ।

आवश्यकताअनुसार विद्यालयमा पनि काम भइरहेको छ । महानगरले आवश्यकताअनुसार वडालाई बजेट विनियोजन गरेको छ । आफ्नो वडामा ८० प्रतिशत काम भइसकेको उनले बताए । ‘चालु आर्थिक वर्षमा वडामा बजेट विनियोजन गर्दा बढाइएको छ,’ उनले भने, ‘काठमाडौँ महानगरको ३२ वडालाई तीन तहमा विभाजन गरिएको छ– ठूलो, मझौला र सानो । हामी सानो वडामा पर्छौं । पहिलो ३ देखि ५ करोड बजेट हुन्थ्यो । अहिले ८ करोडसम्मको बजेट चलाउँछौँ ।’

जनतालाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्नेगरी वडाले काम गरिरहेको उनले बताए ।