३ आश्विन २०८१, बिहिबार 1726806190
पालिका

मेरो काममा कसैले प्रश्न उठाउन पाएका छैनन् : वडाध्यक्ष हिरालाल तण्डुकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले आफूले काम गर्दा गुनासो नआउने गरी काम गरेको बताएका छन् । अहिलेसम्म पनि आफूले गरेको कामबारे गुनासो नआएको उनको भनाइ छ ।

‘शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा सामाजिक कार्य गरेका छौँ,’ उनले भने, ‘तर, अहिलेसम्म हामीले गरेका काममा यो भएन, यो अपुग भयो भन्नेजस्ता कुनै पनि गुनासो आएको छैन ।’ गुनासो नआएकै कारण कामबाट जनता सन्तुष्ट रहेका हुन भन्न सकिने वडाध्यक्ष तण्डुकार बताउँछन् । काम गर्दा अगाडि नै जनतालाई सूचना दिने र उनीहरुको संलग्नता र निगरानी रहने भएकै कारण पनि गुनासो नआएको उनको बुझाइ छ ।

नगरवासीले मात्र नभएर काठमाडौँ महानगरबाट पनि कुनै गुनासो नआएको उनले बताए । ढल निकास तथा व्यवस्थापनमा अहिले समस्या नरहेको बताउँदै वडाध्यक्ष तण्डुकारले यसबारे सुरुदेखि नै काम गरेको जानकारी दिए । तेस्रो कार्यकालमा रुपमा काम गरिरहेका उनले ढल निकास तथा व्यवस्थापनमा कुनै समस्या आएलगत्तै आफूलाई सूचना आउने र तुरुन्तै समाधान गर्ने गरिएको बताए ।

खानेपानी समस्या पनि नरहेको बताएका उनले खानेपानी समस्या समाधानमा मेलम्चीको पानीले सहयोग गरेको बताए । फोहोरमैला व्यवस्थापनमा काठमाडौँ महानगर नै अग्रस्थानमा रहेको भन्दै उनले फोहोर व्यवस्थापनमा पनि कुनै समस्या नरहेको दाबी गरे । ‘न्यूरोड, बानेश्वर, थापाथली त्रिपुरेश्वलगायत क्षेत्रमा फोहोर हुनै दिएको छैनौँ । फोहोमैला व्यवस्थापनमा हामी अग्रस्थानमा छौँ,’ उनले भने, ‘हामीले ठाउँ ठाउँमा मान्छे राखेर फोहोर व्यवस्थापन गरेका छौँ ।’ कर्पोरेट हाउसका हाकिमहरु जेल परेका कारण केही घरबाहल कर उठाउन समस्या देखिएको उनले बताए । आफ्नो वडामा स्वास्थ्य सेवामा पनि समस्या नरहेको उनको दाबी छ ।

कीर्ते कागज बनाएर सेवा लिन आउने घटना पनि भएकाले सेवा प्रवाहमा निकै चनाखो हुनुपर्ने अवस्था रहेको वडाध्यक्ष तण्डुकारले बताए । नागरिकता बनाउने, मुचुल्का, विवाह दर्ता, नाता प्रमाणितजस्ता सिफारिस लिन आउँदा चनाखो हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ । वडाको पहलमा आफू अध्यक्ष रहेको थापाथली जनकल्याण परिवार र त्रिपुरेश्वर आँखा अस्पतालबीच मिलेर वडावासीको मोतियाविन्दुको निःशुल्क उपचारको व्यवस्था गरेको वडाध्यक्ष तण्डुकारले जानकारी दिए ।