४ आश्विन २०८१, शुक्रबार 1726864993
Banner

बिहारमा ४० दिनमा सात नेताको हत्या

नयाँदिल्ली । सोमबार बिहान बिहारमा भारतीय जनता पार्टी (भाजपा) का नेता श्याम सुन्दर उर्फ मुन्ना शर्माको गोली हानी हत्या भयो । यो हत्या बिहारको राजधानी पटनाको पुरानो क्षेत्र पटना शहरको चोक थानामा भएको थियो । मुन्ना शर्मा भाजपाको पटना सिटी चोकको मण्डल अध्यक्ष भइसकेका थिए । उनी पूजापाठ पनि गराउँथे । उनका पिता रामेश्वर शर्मा पनि जनसंघका कार्यकर्ता थिए । हत्यासँग जोडिएको सीसीटीभी फुटेजमा तीन मोटरसाइकल चालकले फुटपाथमा बसिरहेका मुन्ना शर्मालाई गोली हानेको देखिन्छ । बिहार प्रहरीले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै मुन्ना शर्माको हत्या ‘टार्गेटेड किलिङ्ग’ भएको भनेको छ ।

पटना प्रहरीले स्थानीय सञ्चारमाध्यममा ‘डकैतीको प्रयासमा हत्या’ भन्ने कुरालाई अस्वीकार गरेको छ । ‘मुन्ना शर्मा आफ्नो परिवारको लागि अटो बुक गर्न बिहान लगभग साढे चार बजे निस्किएका थिए । उनी सडकको छेउमा बसेर पर्खिरहेको थिए । यति नै बेला मोटरसाइकल सवार तीनजना उनको नजिकै आएर रोकिए र गोली हाने । फुटेज हेर्दा आक्रमणकारीहरुले मुन्ना शर्मालाई नै निशाना बनाइएको प्रष्ट देखिएको छ’ प्रहरीले भनेको छ । परिवारले कुनै किसिमको झगडा वा शत्रुता भएको बताएको छैन । उनी हरेक बिहान टहल्न जान्थे र उनको यो बानी अपराधीहरूलाई थाहा थियो । मुन्ना शर्माको हत्यापछि भाजपा कार्यकर्ताले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् । पछिल्लो एक महिनामा पटना शहर क्षेत्रमा दुई बीजेपी नेताको हत्या भइसकेको छ ।

४० दिनमा ७ नेताको हत्या

बिहारमा अगस्ट १ देखि सेप्टेम्बर ९ सम्म राज्यका विभिन्न भागमा कम्तिमा सात नेताको हत्या भएको तथ्यांक छ । तथ्यांकले बिहारमा राजनीतिक दलसँग सम्बन्धित नेताहरूको हत्या भएको देखाएको छ । यस अवधिमा भाजपाका मुन्ना शर्मा, अजय साह र पश्चिम चम्पारणमा जेडीयू नेता विभव राई, सहरसामा जेडीयू नेता जवाहर यादव, हाजीपुरमा आरजेडी नेता पंकज राई र मुंगेरमा भाजपा नेता बंटी सिंहको हत्या भएको छ । सोमबार साँझ बिहारको अरवलमा स्थानीय सीपीआई–एमएल नेता सुनील चन्द्रवंशीको गोली हानी हत्या गरिएको थियो । सुनिल पार्टीको अरवल जिल्ला कमिटी सदस्य थिए । सेप्टेम्बर ९ को साँझमा उनी मोटरसाइकलबाट घर फर्किंदै गर्दा अपराधीले उनलाई हमला गरेका थिए ।

अर्का भाजपा नेताको हत्या

मुन्ना शर्माको घरबाट करिब पाँच किलोमिटर टाढा अजय साहको घर छ । अजय साह भाजपाका नेता थिए । उनको पनि अगष्ट १३ मा हत्या भएको थियो । ५० वर्षीय अजयलाई घर नजिकैको पसलमा अपराधीहरूले सात पटक गोली हानेका थिए । नेताहरुको हत्या हुनेमा बिहार भारतमै दोस्रो स्थानमा छ । सन् २०२२ मा झारखन्डमा १७ जना राजनीतिक नेताको हत्या भएको थियो भने बिहार र ओडिशामा आठ/आठ जना राजनीतिक हत्या भएको थियो । सो राज्यमा राजनीतिज्ञहरूको मात्रै हत्या भइराखेको छैन, धम्की समेत आउने क्रम जारी भएका खबर आइरहेका छन् । पछिल्लो समय तीन जना सांसदले स्थानीय प्रहरी थानामा आफूलाई धम्की आएको उजुरी गरेका छन् । भाजपाका सांसद प्रदीप सिंह, लोजपा–आरका (खगरियाका) सांसद राजेश वर्मा र आरजेडीका बक्सर सांसद सुधाकर सिंहले उजुरी गरेका हुन् ।