६ आश्विन २०८१, आइतबार 1727038645
Banner

रास्वपा सभापति रवि लामिछानेलाई तुरुन्तै पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि प्रहरीले तयारी थालेको छ । आइतबार छबीलाल जोशीलाई पक्राउ गरेपछि गृह मन्त्री रमेश लेखकले प्रहरी प्रमुखलाई फोन गरेर रवि लामिछानेलाई पनि समात्न निर्देशन दिएपछि प्रहरीले यसको तयारी थालेको हो ।

सहकारी ठगी प्रकरणमा रवि लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा ल्याउन प्रत्यक्ष भूमिका नदेखिएपनि यसको हिनामिनामा संलग्नता देखिएकाले कारबाही हुनुपर्ने प्रतिवेदन छानविन समितिले बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा गोर्खा मिडियाका तीनजना साझेदारमध्ये मुख्य मानिएका जिबी राई फरार छन् भने अर्को साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् । तर पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने अहिलेसम्म पक्राउ परेका थिएनन् । उनलाई तत्काल पक्राउ गर्न गृहमन्त्रीले आईतबार नै निर्देशन दिएकाले छिट्टै पक्राउ गर्ने तयारीमा लागेको प्रहरी स्रोतको भनाइ छ ।

शुक्रबार नै पक्राउ गर्ने तयारी भएका छविलाल जोशी, रवि लामिछाने र दुर्गा प्रसाईलाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्री ओलीले केहि समय नआत्तिन भनेकाले रोकिएको थियो । तर, प्रधानमन्त्री विदेश गएको समय पारेर गृहमन्त्री रमेश लेखकले तिनैजनालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए । सांसद समेत रहेका लामिछानेलाई पक्राउका लागि प्रहरीले पक्राउ गर्ने सुचना समेत पठाइसकेको छ ।