७ आश्विन २०८१, सोमबार 1727090136
Banner

न्युयोर्कमा दिनभर भेटवार्तामा व्यस्त प्रधानमन्त्री (फोटो फिचर)

न्युयोर्क-प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्कमा दिनभर भेटवार्तामा व्यस्त हुनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाह,भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेसँग भेट गर्नुभएको हो । त्यस्तै उहाले राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क लगायत उच्चअधिकारीहरुसँग भेट गर्नुभएको थियो ।नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।

“नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना हुन सक्छ”

प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुभएका राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गर्नुभएको छ ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उच्चायुक्त भोल्कले नेपालको राजनीतिक सहमतिको यो विषय विश्वका लागि नमुना बन्न सक्ने उल्लेख गर्नुभएको थियो ।

यस्तै भोल्कले विश्व तापक्रम वृद्धिका कारण नेपालका हिमालमा हिउँ पग्लने स्थिति हुनुले विश्वलाई असर पार्ने भएकाले नेपालका लागि जलवायु न्याय आवश्यक भएकोमा समर्थन गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले विश्वमा मानव जातिको रक्षाका लागि जलवायु न्यायका मामिलालाई उत्तिकै र सामरिक महत्व दिनुपर्नेमा जोड दिनुभएको थियो ।