७ आश्विन २०८१, सोमबार 1727097384
Banner

वैद्य र बाबुरामलाई महाधिवेशनको चटारो, विप्लव र महिन्द्र एकताको प्रतीक्षामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट अलग भएका वामपन्थी दलहरू कोही महाधिवेशनको तयारीमा छन् भने कोही पुनर्मिलनको पर्खाइमा छन् । पूर्वमाओवादी विभिन्न घटकमध्ये अहिले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशनको तयारीमा छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीले यसअघि असोजमा एकता महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत अलग भएपछि महाधिवेशन मिति परिवर्तन गर्‍यो । साउनको अन्तिम साता बसेको कार्यालय बैठकले मङ्सिरको १३ देखि २३ सम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । यसअघि असोजमा एकता महाधिवेशन हुने भनिएको थियो । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट चोइटिएर बनेको नेकपा बहुमत र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट अलग भएको सन्तबहादुर नेपाली समूहसँग एकता गरी महाधिवेशनको तयारीमा जुटेका वैद्यलाई पार्टी विभाजनले ठुलो धक्का लागेको छ ।

पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी हुने कि नहुने भन्ने विषयमा वैद्य र बास्तोलाबिच मतभेद बढेपछि साउन १ गते पार्टी विभाजन भएको थियो । एकता भएको एक वर्ष पाँच महिनामै विभाजन भएपछि संयोजक वैद्यले साउन २६ देखि २९ सम्म महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका थिए । तर आयोजक समितिको बैठक चलिरहेको बेला साउन २८ गते सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (सङ्कुल), हरिकृष्ण गजुरेल (भास्कर) र वसन्त बोगटी नेतृत्वमा युवा नेताहरूले विद्रोह गरे । तर युवा समूहको विद्रोहले महाधिवेशन प्रभावित नहुने नेता हुकुम सिंहले बताए । महाधिवेशनको तयारीका लागि अहिले सङ्गठन विस्तार तथा सुदृढीकरण, प्रतिनिधि छनोट लगायतका काम धमाधम भइरहेको उनले जानकारी दिए । सिंहका अनुसार महाधिवेनमा देशभरबाट ५/६ सय प्रतिनिधि सहभागी हुनेछन् । ‘अहिले हामी देशभर सङ्गठन विस्तार तथा सुदृढीकरणको काममा व्यस्त छौँ । वडा, पालिकादेखि प्रतिनिधि छनोटको काम भइराखेको छ । तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न पार्टीको सम्पूर्ण ध्यान केन्द्रित छ’, उनले भने । अहिलेको संविधानबाट देशले निकास नपाउने जिकिर गर्दै यसलाई खारेज गरी जनगणतन्त्र स्थापनाका लागि नयाँ संविधान बनाउने गरी महाधिवेशनले राजनीतिक कार्यदिशा तय गर्ने उनको भनाइ छ ।

महाधिवेशनअघि विधान अधिवेशनको तयारीमा नेसपा

यता माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने विषयमा विभाजित भएको नेपाल समाजवादी पार्टी(नेसपा)का बाबुराम भट्टराई समूह विधान अधिवेशनको तयारीमा जुटेको छ । कात्तिक ५ देखि ६ गतेसम्म पोखरामा तय भएको अधिवेशनका लागि नयाँ विधानको मस्यौदा केन्द्रमा आइसकेको नेता कृष्ण शर्माले जानकारी दिए । विधान अधिवेशनले कांग्रेस, एमाले र माओवादी जस्ता परम्परागत दलहरू भन्दा फरक तरिकाले साङ्गठनिक संरचना बनाउन लागेको उनको जिकिर थियो । ‘कांग्रेस, एमाले, माओवादी लगायत परम्परागत पार्टीभन्दा हामीले फरक तरिकाले पार्टी पुनर्गठन गर्दैछौं । पार्टी सदस्यहरूको प्रत्यक्ष निर्वाचनबाट नेतृत्व छनोट गर्छौँ । पार्टीभित्र मात्र होइन शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डालाई लिएर जनतामा जान्छौँ’, उनले भने ।

विधान अधिवेशन सकिए लगत्तै माघमा हुने महाधिवेशनको तयारीमा ध्यान केन्द्रित हुने उनले बताए । शर्माका अनुसार अहिले देशव्यापी रूपमा सङ्गठन विस्तार, सङ्गठन सुदृढीकरण, भेला, छलफल भइरहेको छ । २०७९ को निर्वाचनअघि माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । तर निर्वाचनपछि प्रचण्ड र बाबुरामबिच तिक्ततापूर्ण सम्बन्ध भएपछि एकता प्रक्रिया प्रभावित भएको थियो । चैत ३ गते भट्टराईलाई बाइपास गरी प्रधानमन्त्री निवास बालुवाटारमा नेसपाका अर्का अध्यक्ष महिन्द्र राय समूहले एकता गर्ने सहमतिमा हस्ताक्षर गरेपछि पार्टी विभाजन भएको थियो । चैत ५ र ६ गते काठमाडौँमा बसेको भट्टराई समूह पक्षीय केन्द्रीय समिति बैठकले एकता प्रक्रिया भङ्ग गरी यादव समूहका नेताहरूलाई निष्कासन गरेको थियो ।

एकताको पर्खाइमा विप्लव र नेसपा यादव समूह

नेसपा भट्टराई समूह र क्रान्तिकारी कम्युनिस्ट पार्टी महाधिवेशनको तयारीमा व्यस्त रहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र नेसपा यादव समूह माओवादी केन्द्रसँग पार्टी एकताको पर्खाइमा रहेका छन् । माओवादीबाट १२ वर्षअघि अलग भएको नेकपाले वैशाखमा सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी एकता गर्ने निर्णय गरेको थियो । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न महासचिव विप्लवले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् । केही दिनअघि कुराकानी गर्दै उनले पार्टी एकताका लागि माओवादीको निर्णय कुरेर बसेको बताएका थिए । पार्टी एकता सकारात्मक रूपमा अगाडि बढिराखेको जानकारी उनले जानकारी दिए । माओवादीको केन्द्रीय समिति बैठकले निर्णय गरेपछि एकता प्रक्रियाले ठोस आकार ग्रहण गर्न सक्ने विप्लवको अनुमान थियो ।

‘पार्टी एकताको विषयमा प्रचण्डजीसँग नियमित छलफल भइरहेको छ । छलफल सकारात्मक ढङ्गले अगाडि बढेको छ । एकता हुन्छ । हामीमा कुनै समस्या छैन । केन्द्रीय समिति बैठकले निर्णय गरिसकेको छ । एकताका लागि माओवादीको केन्द्रीय समिति बैठकको निर्णय कुरेर बसेका छौँ । अहिले उहाँहरू पनि आन्तरिक छलफलमा हुनुहुन्छ । सायद केन्द्रीय समिति बैठकले निर्णय गर्ला’, विप्लवले भनेका थिए । पार्टी एकताबारे पछिल्लो अवस्थाबारे जानकारी दिँदै स्थायी समिति सदस्य कर्णजीत बुढाथोकीले माओवादीसँग पार्टी एकताको साथसाथै अन्य वामपन्थी दलसँग बृहत् वामपन्थी ध्रुवीकरणको विषयमा नेताहरूसँग सकारात्मक छलफल भइरहेको बताए । ‘पार्टी एकता गर्ने विषयमा महासचिव विप्लवले माओवादीका शीर्ष नेताहरूसहित वामपन्थी नेताहरूसँग सकारात्मक छलफल भइरहेको छ । माओवादी आन्तरिक छलफलमा रहेकाले एकता प्रक्रियामा ढिलाइ भएको हो । उहाँहरूको केन्द्रीय समिति बैठकले निर्णय गरेपछि थप प्रक्रिया अगाडि बढ्छ’, बुढाले भने ।

उनले माओवादी मात्र नभई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मशाल लगायत दलहरूसँग पनि एकता र ध्रुवीकरणको विषयमा छलफल भइरहेको जिकिर गरे । नेकपा जस्तै नेसपा यादव समूहले माओवादीसँग एकता गर्ने सहमति गरेको ७ महिना भइसकेको छ । माओवादीको संस्थागत निर्णय नहुँदा एकता प्रक्रियामा विलम्ब भइरहेको नेताहरूले बताएका छन् । भट्टराईबाट अलग भएपछि शीर्ष नेताहरू सङ्गठन विस्तार, पार्टी पुनर्गठन र सङ्गठन सुदृढीकरणका लागि देश दौडाहामा निस्किएका थिए । पार्टी एकता लागि माओवादीको संस्थागत निर्णय कुरेर बसेको सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । पार्टी एकताका लागि आफ्नो तर्फबाट सबै तयारी पुरा भएको उनले स्पष्ट पारे । ‘पार्टी एकताका लागि हाम्रो तर्फबाट सबै पुरा भएको छ । माओवादी केन्द्रबाट संस्थागत निर्णय नहुँदा ढिलाइ भएको हो । उहाँहरू आन्तरिक छलफलमै रहेका छन् । केन्द्रीय समितिले के निर्णय गर्छ, त्यसको प्रतीक्षामा छौँ’, श्रेष्ठले भने ।

विप्लव संयोजक रहेको समाजवादी मोर्चामा पछिल्लो समय सहभागी भएको नेसपा यादव समूह मोर्चाभन्दा पनि पार्टी एकतामा बढी जोड दिएका छन् । तर हतारमा पार्टी एकता गर्ने पक्षमा माओवादी देखिएको छैन । पहिला आन्तरिक रूपमा मजबुत भएपछि मात्र पार्टी एकता गर्दा दिगो हुने उपमहासचिव हरिबोल गजुरेलको बुझाइ छ । विगतमा वैचारिक र राजनीतिक तयारीबिना एमालेसँग एकता गर्दा समस्या आएको दलिल पेस गर्दै अब त्यो गल्ती दोहोर्‍याउन नहुने उनले तर्क गरे । ‘हिजो हामीले एकता पटक पटक गर्‍यौँ । पूर्वतयारी नगरी एकता गर्दा दिगो हुँदैन रहेछ । वैचारिक राजनीतिक स्पष्ट नहटाई हतारमा एकता गर्दा के हुन्छ भनेर हामीले नेकपा बनाउँदा थाहा पाइसक्यौँ । परिणाम राम्रो आएन’, गजुरेलले भने, ‘त्यसैले तयारी गरेर नै एकता गर्नपर्छ । पहिला माओवादी पङ्क्ति एक  ठाउँमा आउनुपर्‍यो नि । बुझाइको एकरूपता हुनुपर्‍यो । उहाँलाई अहिले ल्याएर पनि के गर्ने ? फेरि उही स्थिति भयो भने के राम्रो हुन्छ ?’