८ आश्विन २०८१, मंगलबार 1727179956
Banner

नेपाल सीसायुक्त पेट्रोल प्रतिबन्ध गर्ने पहिलो ग्लोबल साउथ देश: प्रधानमन्त्री ओली

न्यूयोर्क- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सीसायुक्त पेट्रोलको प्रयोगमा प्रतिबन्ध लगाएर विश्व जगतमै अग्रणी देशको स्थान हासिल गरेको बताउनु भएको छ ।

युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचर: पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सीसाको असरबाट बालबालिका, गर्भवती महिला, र अन्य संवेदनशील समूहहरूलाई जोगाउन यसबारे व्यापक जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निम्न तथा मध्यम आय भएका देशहरूका बालबालिकालाई विषाक्त खानाले गम्भीर असर गरिरहेको विषयमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले २०१४ मा नेपालले ‘राष्ट्रिय सीसा रंग मापदण्ड’ लागू गरी सीसायुक्त रंगको प्रयोगलाई रोक्ने महत्त्वपूर्ण कदम चालेको र २०२३ मा खाद्य पदार्थ, मदिरा पेय पदार्थ, र पानी आपूर्तिमा सीसाजन्य र अन्य भारी धातुहरूको प्रयोगलाई सीमित गर्ने कडा नियम लागू गरेको जानकारी गराउनुभयो ।

उहाँले सन् २०२४ मा नेपालले खाद्य सुरक्षा विधेयक पारित गरेर सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि नियामक संरचनालाई थप सुदृढ बनाएको पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सीसाजन्य वस्तुले बालबालिका र महिलाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको नियन्त्रणमा विकसित देशहरूको सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो ।

प्रधानमन्त्रीले विभिन्न अध्ययनहरूमा सीसाको असरले विश्वव्यापी उत्पादकत्वमा वार्षिक करिब १.४ ट्रिलियन डलरको नोक्सानी हुने तथ्य उल्लेख गर्दै, सीसाको विषाक्तता रोक्न ठोस कदम नचालिए यसको दीर्घकालीन जोखिम झनै महँगो हुने चेतावनी पनि दिनुभयो ।