२ कार्तिक २०८१, शुक्रबार 1729261648
अर्थ

पाथीभरा केबुलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौं : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङम पाथीभरा केबुलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबुलकारले शत प्रतिशत दिने प्रतिवद्धता जनाए । उनले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानीको लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्र स्वदेशमा लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताए । उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राखे ।

उनले पाथीभरामा केबुकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए । उनले स्थानीयहरुलाई केबुलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए । उनले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबुलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए ।

उनले पाथीभरा केबुलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको भन्दै रुखहरु खाट्ने प्रक्रिया सकिएको बताए । उनले केबुकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताए । उनले पाथीभरा केबुकार बनाउने आयोजना आइएमई ग्रुप र चन्द्रप्रसाद ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ, कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताए । उनले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना,व्यवसायी गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबुलकार बनाउन शुरुवात गरेको बताए ।