३० आश्विन २०८१, बुधबार 1729098458
विश्व

भारतको सुरक्षा कमजोर पार्ने काम गर्दैनौँ : मुइज्जु

नयाँ दिल्ली । भारत र माल्दिभ्सबिचको सम्बन्धमा लामो समयदेखि तनाव देखिएको छ । अहिले दुवै देशले सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । यसैबिच माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु भारत भ्रमणमा आएका छन् । यो उनको पहिलो राजकीय भ्रमण हो ।

आइतबार नयाँ दिल्लीमा प्रवेश गर्ने बित्तिकै माल्दिभ्सले भारतको सुरक्षामा खतरा हुने कुनै पनि काम नगर्ने उनले बताए । एउटा अङ्ग्रेजी अखबारसँगको कुराकानीमा उनले माल्दिभ्सले दिल्लीलाई एउटा मूल्यवान् साझेदार र मित्रको रूपमा हेर्नुका साथै रक्षासहित धेरै क्षेत्रमा सहयोग प्राथमिकतामा रहने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुअघि राष्ट्रपति मुइज्जुले चीनसँग माल्दिभ्सको बढ्दो सम्बन्धलाई लिएर भारतको चिन्ता कम गर्ने प्रयास गरेका थिए । उनले माल्दिभ्सले अन्य देशसँग सहकार्य बढाउँदै गएको तर आफ्नो कुनै पनि कदमले यस क्षेत्रको सुरक्षा र स्थायित्वमा हानी नपुग्ने बताएका थिए ।

बलियो र रणनीतिक सम्बन्ध कायम हुने

भारत माल्दिभ्सको महत्त्वपूर्ण सहयोगी र मित्र भएको उनले बताए । दुई देशबिचको सम्बन्ध आपसी सम्मान र साझा हितमा आधारित रहेको मुइज्जुको भनाई थियो । माल्दिभ्सले भारतसँग बलियो र रणनीतिक सम्बन्ध कायम गर्ने र क्षेत्रीय स्थिरता सुनिश्चित गर्न मिलेर काम गर्ने पनि उनले बताएका थिए ।

‘माल्दिभ्स फर्स्ट’ नीति अन्तर्गत भारतसँगको पुरानो र भरपर्दो सम्बन्धलाई प्राथमिकता दिइने पनि उनको भनाई थियो । अर्को देशसँगको आफ्नो सम्बन्धले भारतको सुरक्षा हितलाई कमजोर नबनाउनेमा आफू विश्वस्त रहेको र माल्दिभ्सले भारतसँग बलियो र रणनीतिक सम्बन्ध कायम राख्ने उनले भनेका छन् ।