३ कार्तिक २०८१, शनिबार 1729354797
विश्व

भारतीय विमानमा एक हप्तामा २३ वटा बम राखिएका धम्कीका घटना

नयाँ दिल्ली । शुक्रबार राति भारतका दुई एयरलाइन्सका विमानमा बम राखिएको धम्की आएपछि फरक फरक स्थानमा आपतकालीन अवतरण गरिएको छ । एयर इन्डिया एक्सप्रेस ((IX-196)) र विस्तारा एयरलाइनसको जहाजमा बम राखिएको धम्की आएको हो ।

बम राखिएको धम्की आएलगत्तै दिल्लीबाट लन्डन उडान भरिरहेको विस्ताराको फ्लाइटलाई फ्र्याङ्कफर्ट डाइभर्ट गरिएको छ । त्यस्तै १८९ यात्रु लिएर दुबईबाट आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमान पनि जयपुरमा आपतकालीन अवतरण गरिएको छ । अनुसन्धानका क्रममा दुवै विमानमा शंकास्पद वस्तु भने फेला नपरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

पछिल्लो एक हप्तामा भारतीय विमानमा बम राखिएका धम्कीका २३ वटा घटना भएका छन् । बम राखिएका धम्की बढ्न थालेपछि केन्द्र सरकारले अक्टोबर १६ मा उडानहरूमा एयर मार्शलहरूको संख्या दोब्बर बनाउने निर्णय गरेको थियो भने गृह मन्त्रालयले उड्डयन मन्त्रालयसँग पनि प्रतिवेदन मागेको छ ।