४ कार्तिक २०८१, आइतबार 1729473585
Banner

अनुसन्धानमा सघाउन रास्वपा र सहकारी पीडितलाई कास्की सिडिओकाे आग्रह

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरु प्रदर्शनमा उत्रिने भएपछि प्रजिअ पाण्डेले सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अपिल गरे ।

लोकतान्त्रिक अभ्यास गर्न पाइए पनि आफूले गर्दा अरुलाई असर नपरोस् भन्नेतर्फ ख्याल गर्न अनुरोध गर्दै उनले भने, ‘विरोध र समर्थनमा गर्ने कार्यक्रमहरु शान्तिपूर्ण हुनुपर्छ, लोकतन्त्रको अभ्यास गर्न पाइयो तर आफूले गर्दा अरुलाई डिस्टर्ब हुने, शान्ति सुरक्षा भंग हुने खालको गतिविधि गर्नु भएन, उच्छृङ्खल गतिविधि गर्नु भएन ।’

शान्ति सुव्यवस्थामा खलल पुग्ने खालका गतिविधि नगर्न उनले दुवै पक्षलाई अनुरोध गरे । साथै विषय अदालतमा प्रवेश गरिसकेकाले अदालतको निर्णयलाई मान्नुपर्ने उनले बताए । पोखराको सूयर्दशन सहकारी संस्थाको रकम अपचलनमा मुछिएका रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी रातारात पोखरा पुर्‍याइएको थियो । आज आइतबार उनलाई अदालतमा पेस गरिँदै छ ।

रवि पक्राउको विरोधमा रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गर्दै आएको छ । हरेक जिल्लाबाट कम्तीमा एक सय जनालाई पोखरामा भेला हुन रास्वपाले सर्कुलर गरेको छ । यसैगरी सहकारी पीडितहरुले पनि न्याय माग्दै प्रदर्शन गर्न सार्वजनिक आह्वान गरेका छन् । सहकारी पीडित र रास्वपा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिँदा तनाव सिर्जना हुन सक्ने भएकाले पोखराको सुरक्षा व्यवस्था चुूस्त पारिएको छ ।