११ कार्तिक २०८१, आइतबार 1730038148
खेलकुद

लिग टु क्रिकेट : नेपालले अमेरिकासँग खेल्दै

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । खेल डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ । नेपाल र अमेरिकासँगै स्कटल्याण्ड पनि समावेश रहेको यस सिरिजको पहिलो खेल शुक्रबार भएको थियो । सो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो । यसअघि गत महिना क्यानडामा भएको लिग टु सिरिजमा जितविहीन बनेको नेपाल र पहिलो खेलमा स्कटल्याण्डसँग लज्जासपद हारपछि नेपाल र अमेरिका दुवै टोली दबाबमा छन् ।

नेपाल क्यानडा र ओमान सम्मिलित लिग टु सिरिजमा नेपाल जितविहीन बनेको थियो । तीन खेलमा पराजित भएको नेपालले एक खेल वर्षाका कारण रद्द हुँदा १ अंक जोडेको थियो । त्यसअघि घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र नामिबिया सम्मिलित लिग टु मा नेपालले जममा १ खेल जितेको थियो । अहिलेसम्म लिग टु मा ८ खेल खेल्दा नेपालले जम्मा १ जित हात पारेको छ र ३ अंक जोडेको छ । अंक तालिकामा नेपाल ८ टिम मध्ये सातौं स्थानमा छ । ९ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । नेपाल र अमेरिकाबीचको पछिल्लो पाँच ओडिआई खेलमा दुवै टोलीले २-२ खेल जितेका छन् । एक खेल भने बराबरी भएको थियो । पछिल्लो पटक जिम्बाव्वेमा भएको वानडे विश्वकप छनोटको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालका लागि यो सिरिज एकदिवसीय क्रिकेटमा पुनरागमन गर्दे राम्रो अवसर हुनेछ । केही दिनअघि अमेरिका विरुद्धको तीन खेलको टी२० आई सिरिज ३-० ले क्लिन स्वीप गरेको थियो । टी२० सिरिजमा नेपालका टप अर्डर ब्याटरले लय लिएका थिए । त्यही लय एकदिवसीय क्रिकेटमा कायम राख्न सके नेपालले लिग टु मा पनि राम्रो प्रदर्शन गर्न सक्नेछ । टी२० सिरिज जितेपछि कप्तान रोहित कुमार पौडेलले यो जितबाट नेपाली टिममा आत्विश्वास बढेको र त्यसलाई कायम राख्न सके जुनसुकै टिमलाई हराउन सक्ने प्रतिक्रिया दिएका थिए । लिग टु को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोद्यी घोषणा भइसकेको छ । जसमा टी२० सिरिज गुमाएका सन्दीप लामिछानेले पुनरागमन गरेका छन् । सागर ढकाल र देव खनाल भने रिजर्भमा छन् ।