८ मंसिर २०८१, शनिबार 1732392349
विश्व

निर्माणाधीन मेट्रो सुरुङमा दुर्घटना हुदा २ को मृत्यु, ६ घाइते

पटना : बिहारको राजधानी पटनामा निर्माणाधीन मेट्रो सुरुङमा सोमबार राति माटो हटाउन प्रयोग गरिएको लोको मेसिनको ब्रेक फेल हुँदा दुई मजदुरको मृत्यु भएको छ भने अरू ६ जना घाइते भएका छन् । घटनामा मनोज बेरा र विजय बेरा नाम गरेका दुई मजदुरको मृत्यु भएको र उनीहरू दुबै ओडिशाका बासिन्दा भएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको बताइएको छ ।

घाइतेमा केही मजदुरहरू बिहारको जमुईका र केही ओडिशाको कटकका भएको बताइएको छ । पटना साइन्स कलेज नजिकै निर्माणाधीन सुरुङ नजिक यो दुर्घटना भएको हो । यो दुर्घटना राति १० बजे सुरुङ नम्बर एक नजिक भएको र घटनाको अनुसन्धान भइरहेको बताइएको छ । पटनामा मेट्रो निर्माणको काम तीव्र गतिमा भइरहेको छ । यस वर्षको जुन महिनामा राज्य सरकारले मुजफ्फरपुर, गया, दरभंगा र भागलपुरमा मेट्रो चलाउन सैद्धान्तिक स्वीकृति दिएको थियो ।