१४ कार्तिक २०८१, बुधबार 1730287001
विश्व

भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३० घाइते

भारतको राजस्थान राज्यमा मङ्गलबार बस एउटा कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको लक्ष्मणगढमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार यात्रुले भरिएको निजी बस सालासरबाट नवलगढ जाँदै गर्दा दुर्घटना भएको हो । “आज स्थानीय यात्रु बोकेको निजी बस यहाँ कल्भर्टमा ठोक्किएर दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ,” वरिष्ठ प्रहरी अधिकारी सत्येन्द्र चौधरीले बताउनुभयो । “केही घाइतेहरूलाई जयपुरमा रिफर गरिएको र बाँकीको एसके अस्पताल सीकरमा उपचार भइरहेको छ ।” दुर्घटना लगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि उद्धार टोली र एम्बुलेन्स घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पु¥याएका थिए । एसके अस्पताल सिकरका सुपरिटेन्डेन्ट डा महेन्द्र खिचडले भन्नुभयो,“यहाँ कुल ३७ जना बिरामी भर्ना भएका थिए । मृतक तीन जनाको उपचारका क्रममा मृत्यु भएको र सातजनालाई जयपुर पठाइएको र बाँकीको यहीँ उपचार भइरहेको छ ।” दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । भारतमा सडक दुर्घटनाहरू सामान्य छन् । मुख्यतया ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाह ड्राइभिङका कारण दुर्घटना हुने गर्दछ । अधिकारीहरूका अनुसार दक्षिण एसियाली देशहरूमा हरेक वर्ष करिब ५० लाख सडक दुर्घटनामा एक लाख ५० हजार जनाको ज्यान जाने गरेको छ ।