१० मंसिर २०८१, सोमबार 1732525224
Banner

भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव अर्यालले पाए सफाइ, पौडेल र श्रेष्ठ दोषी ठहर

काठमाडौं । पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमुख्यसचिव अर्याललाई सफाइ दिएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको हो । यो मुद्दामा विशेष अदालतले निलम्बित मुख्यसचिव डा. अर्यालसहित १० जनालाई सफाइ दिँदा विकल पौडेल र सफल श्रेष्ठलाई भने दोषी ठहर गरेको छ । उनीहरुलाई सजाय निर्धारण भने २५ मंसिरमा हुने छ ।

सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।