वासिङ्टन डीसी । पाकिस्तानको सैन्य अदालतले पूर्व प्रधानमन्त्री इमरान खानका २५ समर्थकलाई जेल सजाय सुनाएको खबर दुई दिनअघि आएको थियो । यस मामिलाबारे अमेरिकाले प्रतिक्रिया दिएको छ । ‘सन् २०२३ को मे ९ मा भएको विरोध प्रदर्शनमा भाग लिएका पाकिस्तानी नागरिकहरूलाई त्यहाँको सैन्य अदालतले सजाय सुनाएकोमा अमेरिका निकै चिन्तित छ ।’ अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
‘यी सैन्य अदालतहरूमा न्यायिक स्वतन्त्रता र पारदर्शिताको अभाव छ पाकिस्तानी संविधान अन्तर्गत निष्पक्ष सुनुवाइ सुनिश्चित होस् अनि र यस प्रक्रियामा उपयुक्त नियमहरू पालना होस् भनेर अमेरिकाले पाकिस्तानी अधिकारीहरूसँग आह्वान गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पनि यसबारे ट्वीट गरेका छन् । पाकिस्तानले सैन्य अदालतमा पाकिस्तानी नागरिकहरूलाई सजाय सुनाएकोप्रति अमेरिका चिन्तित छ र पाकिस्तानी अधिकारीहरूलाई निष्पक्ष परीक्षण र उचित प्रक्रियाको अधिकारको सम्मान गर्न आह्वान गरेको पनि उलने ट्वीटमा लेखेका छन् ।
के थियो सजाय ?
गत वर्ष सैनिक प्रतिष्ठानमा भएको आक्रमणको मुद्दामा पाकिस्तानको सैन्य अदालतले यी व्यक्तिहरूलाई २ देखि १० वर्षको जेल सजाय सुनाएको छ । इमरान खानलाई भ्रष्टाचारको मुद्दामा अदालतमा पेश गरेपछि सुरक्षा बलले उनलाई पक्राउ गरेको थियो । जसको विरोधमा देशभर प्रदर्शन भएको थियो । खानका हजारौं समर्थकले सरकारी भवन र सैन्य प्रतिष्ठानमा क्षति पुर्याएका थिए ।