४ आश्विन २०८१, शुक्रबार 1726835780
पालिका

ललितपुरमा महिला मतदाता बढी

ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन् । जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन् । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।

ललितपुर महानगरपालिकामा महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल एक लाख २२ हजार ८९० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोमा घिमिरेले जानकारी दिनुभयो । यस्तै महालक्ष्मी नगरपालिकामा पुरुष १७ हजार ५४८ र महिला १९ हजार ११९ गरी कूल ३६ हजार ६६७, गोदावरी नगरपालिकामा पुरुष २६ हजार ६२९ र महिला २७ हजार ७६९, तेस्रोलिङ्गी एक गरी कूल ५४ हजार ३९९ मतदाता छन् । कोन्ज्योसोम गाउँपालिकामा पुरुष चार हजार ३१२, महिला चार हजार २७६ गरी कूल आठ हजार ५८८, बागमती गाउँपालिकामा पुरुष पाँच हजार ९६०, महिला ६ हजार ३६८ गरी कूल १२ हजार ३२८ तथा महाङ्काल गाउँपालिकामा पुरुष चार हजार ६२३, महिला चार हजार ३८९ गरी कूल नौ हजार १२ मतदाता रहेको घिमिरेले बताउनुभयो । त्यसैगरी ललितपुरमा १३१ मतदानस्थल र २८८ मतदान केन्द्र निर्धारण गरिएको छ । ललितपुर महानगरपालिकामा ५२ मतदानस्थल र १३७ मतदान केन्द्र, महालक्ष्मीमा १८ मतदानस्थल र ४३ मतदान केन्द्र, गोदावरीमा ३१ मतदानस्थल र ६६ मतदान केन्द्र, कोन्ज्योसोममा सात मतदान स्थल र १२ मतदान केन्द्र, बागमतीमा १३ मतदानस्थल र १७ मतदान केन्द्र तथा महाङ्कालमा १० मतदानस्थल र १३ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।