काठमाडौं । लाजिम्पाटमा एक व्यवसायीमाथि रड आक्रमण भएको घटनामा थप एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गोरखाको आरुघाट गाउँपालिका–८ का २९ वर्षीय सिजन अधिकारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनलाई भारतबाट पक्राउ परेर ल्याइएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । अधिकारीसहतिको समूहले ११ कात्तिकको दिउँसो लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामामाथि सांघातिक आक्रमण गरेको थियो ।
नुवाकोटको ककनी गाउँपालिका– ६ घर भएका ३५ वर्षीय विक्रममाथि ज्यान मार्ने उद्देश्यसहित अन्धाधुन्ध रड आक्रमण भएको थियो । प्रहरीले यो प्रकरणमा अहिलेसम्म चार जनालाई पक्राउ गरेर ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । आक्रमणको आरोपमा यसअघि प्रहरीले गण्डकी प्रदेश सांसद दीपक मनाङेका स्वकीय टीका भण्डारी, मार्शल भनिने शैलेन्द्र तामाङ र निश्चल सुनारलाई पक्राउ गरेको थियो । उनीहरू सबैलाई परिसरको हिरासतमा राखेर अनुुसन्धान अघि बढाइएको छ । व्यवसायी विक्रममाथि आक्रमणको आरोपमा युकेमा बस्ने लक्ष्मी राई नाम गरेकी महिलासहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको परिसरले जनाएको छ । चार जना भने अक्रै फरार छन् । सुपारी दिएर आपराधिक समूहको सहयोगमा विक्रममाथि आक्रमण भएको आरोप छ ।