विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद र शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताएका छन् । आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्रको गौरव गाथा स्मरणीय रहेको चर्चा गरे । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरू नभए पनि सीमा सुरक्षामा खेलेको भूमिका अविस्मरणीय रहेको बताउँदै उनले भने, ‘कोरोनाकालमा सीमा क्षेत्रमा र विपद् आउँदा अग्रभागमा खेलेको भूमिकाले सशस्त्र प्रहरी बल महत्त्वपूर्ण रहेको छ ।’ सीमित स्रोत साधनबिच सीमा सुरक्षा गरेर राजस्व वृद्धि गर्न र विपद व्यवस्थापन काम गरेकोमा प्रशंसा गरे ।
विपद् भयो भने सशस्त्र प्रहरी छ यसले काम गर्छ भनेर ढुक्क हुने अवस्था रहेको उनले बताए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोडर पोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दुई ठुला देश रहेको र भारतसँग खुला सीमा रहेको आपसी समन्वय गरेर काम गर्दै देशले लाभ लिन सक्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) शम्भु सुवेदीले धन्यवाद मन्तव्य व्यक्त व्यक्त गर्दै सशस्त्र प्रहरीले विभिन्न आरोह अवरोह पार गर्दै जनताको सेवा गर्दै यहाँ आइपुगेको बताए । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनिष थापाले सशस्त्र स्वागत मन्तव्य व्यक्त गर्दै सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न व्यक्ति र प्रहरीलाई सम्मान गरिएको थियो ।