७ जेष्ठ २०८३, बिहिबार 1779409493
Banner

गलत जयजयकारले देश कहाँ पुग्छ? सिस्टममा जाऔं : उपप्रधानमन्त्री सिंह

काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम शुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन्। काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री सिंहले समाजमा व्याप्त यस्तो प्रवृत्तिलाई अन्त्य गर्न आह्वान गरे। उनले भने, ‘अस्वस्थ प्रतिष्पर्धा भएपछि जसले जे गरेपनि, जे बोलेपनि, जे लेखेपनि हुने, त्यस्तैको मात्रै जयजयकार हुने हो भने त देश कहाँबाट कहाँ पुग्छ र? सिस्टममा त हामी जानुपर्छ नि। यि सबै कुरालाई मनन गरेर अहिले सार्वजनिक जग्गाको जुन अहिले पार्क बनाउने कुरा भइरहेको छ।

उनले बागमती, विष्णुमती लगायतका नदीनाला किनार २० मिटर थप गर्नुपर्ने सर्वोच्च अदालतको निर्देशनप्रति ध्यानाकर्षण समेत गराएका छन्। उनले थपे, ‘बागमती, विष्णुमतीदेखि लिएर अरु नदीनालाहरू सबैको तपाईंहरूले एउटा कुरा के ख्याल गर्नुपर्‍यो भने सर्वोच्च अदालतले के निर्देश गर्‍यो भन्दा नदीनालाको अहिले जे जति छ, त्यसको किनार अझ २० मिटर थप गर्ने भनेको छ। मान्छेहरूमा यहाँ त असुरक्षाको वातावरण भयो। बैंकहरुले पनि जसले धितो राखेको छ, त्यो चाँडै फर्काउ, किनभने तिमीहरूको केही बाँकी रहँदैन। सरकारले यो हटाउने भयो। सर्वोच्च अदालतको निर्देशनअनुसार भन्यो।’

उनले यसको कारणले १६/१७ लाख जनताको आवास असुरक्षित हुने भएकोले सो निर्देशन लागू गर्न नसकिने बताए। त्यसैले, शहरी विकास मन्त्रालयको नेतृत्वमा एक कमिटी गठन गरी व्याकेटको मुद्दा अदालतमा चलिरहेको जानकारी दिँदै, उनले आवश्यक सुधार र व्यवस्थापनका लागि कानूनी प्रक्रिया अघि बढिरहेको उल्लेख गरे।

उनले भनेका छन्, ‘हामीले व्याकेटमा जानको लागि शहरी विकास मन्त्रालयकै नेतृत्वमा कमिटी गठन गरेर १६/१७ लाख जनताको आवास असुरक्षित हुने भएको कारणले अहिले लागू गर्न सकिँदैन भन्ने कुरालाई कोर्टमा गएर व्याकेटको मुद्दा चलिरहेको छ। यो गर्नुपर्‍यो, त्यो गर्नुपर्‍यो भन्छ। लागू गर्न लाग्यो भने आफ्नो त्यहाँ एक इन्च जग्गा पर्‍यो भने विरोध गर्न शुरु गर्छ।’

उपप्रधानमन्त्री सिंहले जनताले चाहेअनुसारको व्यवस्था र सुधार आएको दाबी पनि गरेका छन्। उनले माघ १८ गतेबाट संसद्को अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरू पारित गर्नेगरी अघि बढ्ने उनको भनाइ रहेको छ।