पोखरा : अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने जिम्मेवारीमा रहेका पोखरा महानगरपालिकाका शाखा अधिकृत नै २५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले कपिल गिरीलाई न्युरोडस्थित महानगरपालिका कार्यालय अगाडि सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थFमा नियन्त्रणमा लिएको हो । उनी महानगरपालिकाको उजुरी फर्छ्यौट तथा समन्वय शाखाको संयोजकको जिम्मेवारीमा थिए । महानगरका सम्बन्धमा अख्तियारमा परेका उजुरीका विषयमा वडा, शाखाबाट राय प्रतिक्रिया संकलन गरी जवाफ पठाउने काम उनैले गर्थे ।
आयोगको पोखरा कार्यालयका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले सेवाग्राहीका बारेमा अख्तियारमा उजुरी परेको र त्यसलाई मिलाउन एक लाख रुपैयाँ दिनुपर्ने भन्दै रकम माग गरेका थिए । ‘कृत्रिम उजुरी खडा गरेर रकम मागिएको रहेछ,’ उनले भने, ‘उजुरी परेको फोटो, भिडियो छ भनेर झुक्याउने काम गरिएको रहेछ ।’ थप अनुसन्धानपश्चात् गिरीलाई २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीलाई बुझाउने उनले बताए ।


