४ आश्विन २०८१, शुक्रबार 1726845098
पालिका

सूर्यविनायक नगरपालिकाका उमेदवारसँग विद्यार्थीले सोधे, शैक्षिक बौद्धिक जनशक्तिलाई कसरी समेटनु हुन्छ ?

भक्तपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, सूर्यविनायक नगर कमिटीले सूर्यविनायक नगरपालिकाको लागि हुन लागेको आसन्न चुनावमा नेकपा एमालेका उम्मेद्वारसँग विद्यार्थीलाई समेटनुपर्ने जिज्ञासा राखेका छन्। चुनाब जितेपछि जनप्रतिनिधिले शैक्षिक बौद्धिक जनशक्तिलाई कसरी समेटनु हुन्छ भन्दै प्रश्न गरेका थिए । भक्तपुरमा आयोजित ’विद्यार्थीसँग उम्मेद्वार’ कार्यक्रममा सहभागि विद्यार्थीसँग रोजगारमुलक शिक्षा र विद्यार्थीको जनशक्तिको सदुपयोगका बारेमा छलफल भएको थियो । उम्मेद्वारले सूर्य ध्वजावाहक उम्मेद्वारलाई नै किन मतदान गर्ने भन्ने विषयमा विद्यार्थीमाझ सम्बोधन गर्नुभयो।

प्रमुख अतिथीको रूपमा बोल्नुभएका नगरपालिकाका पूर्व नगर प्रमुख तथा आसन्न चुनावमा नगर प्रमुख पदमा पुनः उम्मेद्वारी दिनुभएका वासुदेव थापाले नगर भित्र अझै जनमुखी कार्यक्रम लैजाने र शिक्षा, स्वास्थ्य, वातावरण का क्षेत्रमा अझै पाइला चाल्ने बताउनुभयो। नगरभित्र भ्रष्टाचार लगायतका गतिविधिमा शून्य सहनशीलता अपनाउने कुरालाई पनि उहाँले जोड दिनुभयो।

नगरपालिकाका नेकपा (एमाले)का तर्फबाट नगर उपप्रमुख पदका उम्मेद्वार सरिता भट्टराईले कार्यक्रमका दौरानमा विद्यार्थीहरूबाट आएका प्रश्न, जिज्ञासालाई सम्बोधन गर्नुका साथै नगरपालिकाको भावी रोडम्याप पनि सटिकमा पस्कनुभयो। हाट बजारलाई व्यवस्थित गर्ने सम्बन्धमा, ’स्थानीय उत्पादन, स्थानीय उपभोग’, बजारसँग किसानलाई जोड्ने विषयमा भट्टराईले बोल्नुभयो। अर्थशास्त्रमा दख्खल राख्नुभएकी भट्टराईले आफ्नो कार्यकालमा बौद्दिक सर्कल बनाएर कार्य गर्ने र यसका लागि विभिन्न क्षेत्रका बौद्दिकलाई पनि समेटेर नगरपालिका चलाउने कुरामा जोड दिनुभयो।

विद्यालय पाठ्यक्रममा पनि राजनीति, अर्थशास्त्र र कानुनका विषयलाई समेटेर अघि बढ्ने कुरा पनि जनाउनुभयो।साथसाथै उहाँले आगामी दिनहरूमा पनि अनेरास्ववियुले नगरपालिकाका पदाधिकारीहरूलाई झक्झकाउनुपर्ने, र पार्टीको आन्तरिक लोकतन्त्रका निम्ति पनि अनेरास्ववियु आवश्यक रहेको जनाउँदै अनेरास्ववियुको भूमिका माथि प्रकाश पार्नुभयो।

कार्यक्रममा करिब दश जना विद्यार्थीले उम्मेद्वारसामु प्रश्न राख्नुभएको थियो। कानुनका विद्यार्थीको पनि उल्लेख्य सहभागिता रहेको यस ’विद्यार्थीसँग उम्मेद्वार’ कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन, २०७४का विविध विषयमा उम्मेद्वारको योजनाबारे प्रश्न सोधिएको थियो।

नेकपा एमाले सुर्यबिनायक नगरपालिकाका अध्यक्ष एवम सुर्यबिनायक नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष उम्मेदवार रबिन्द्र सापकोटाले नगरपालिकाले भौतिक बिकासमा उल्लेख्य कार्य सम्पन्न गरेको अबक्क दिशा समृद्ध नगरपालिका सुखी नगरबासी बनाउने रहेको बताउनुभयो । सहभागी बिद्यार्थीहरु बाट उठेको प्रश्न तथा सुझावलाइ सम्बोदन गर्दै सापकोटाले नगरपालिका नेकपा एमाले जित हासिल गर्ने र सामाजिक आर्थिक रुपान्तरणमा जोड दिने बताउनुभयो । यसै गरी अतिथीको रूपमा अनेरास्ववियु भक्तपुर जिल्ला कमिटी अध्यक्ष हरिशरण बस्नेतले सार्वजनिक शिक्षा र स्वास्थ्यका विषयमा उम्मेद्वारले गम्भीरतापूर्वक सोची कार्यक्रम अघि लानुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी स्वागत मन्तव्यका क्रममा अनेरास्ववियु भक्तपुर जिल्ला कमिटी सदस्य सुजन अधिकारीले नगर प्रमुखले जित्नका लागि अलि कसरत गर्नुपर्ने देखिए पनि नगर उपप्रमुखमा भने घटीमा पनि ५१ प्रतिशत मत ल्याउने भन्दै नगर उपप्रमुख उम्मेद्वार भट्टराईलाई अग्रिम बधाई दिनुभयो। गठबन्धनले उपप्रमुख पदमा अरू कोही नपाएर एमाले पार्टीबाट चोइटिएर गएका पार्टीका मान्छे लाई टिकट दिएकाले र प्रमुख/उपप्रमुख पदमा दुवै पुरुष उम्मेद्वार रहेका कारण महिलाको सहभागितालाई ओझेल पारेका कारण उपप्रमुख पदका उम्मेद्वारको सहज जित निस्कने कुरा अधिकारीले अघिल्लो स्थानीय चुनावको मतको अध्ययन गर्दै ठोकुवाका साथ भन्नुभयो।

कार्यक्रमको समापन गर्दै अनेरास्ववियु नगर कमिटी अध्यक्ष श्रीकृष्ण थापाले अनेरास्ववियुले यस चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन केही दिन युद्धस्तरमा खटिनुपर्ने कुरालाई प्रकाश पार्दै सूर्यविनायक नगरपालिकाका प्रत्येक वडामा घटीमा पनि १० जना अनेरास्ववियुका कार्यकर्ता खटाउन काम अन्तिम चरणमा रहेको जनाउनुभयो।