काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए ।
नारायणहिटी दरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृङ्खला चलाए । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए ।

शासन सत्ता आफ्नै हातमा लिएका ज्ञानेन्द्रले केही नेताहरुलाई जेल हाले । सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्कियो । राजधानी काठमाडौंमा मानवसागर उर्लियो । आन्दोलनमा दुई दर्जन बढीको ज्यान गयो । अन्ततः राजा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भए र जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे ।
आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले ०६३ वैशाख ११ गते राति संसद पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । त्यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।
त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।” निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।
जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ । राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पु¥याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।
यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ । विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।


