काठमाडौं । चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले फिल्म निर्माण र निर्देशनमा पाइला अघि बढाएका छन् ।

फिल्म ‘गोबर गणेश’ मार्फत उनले फिल्म क्षेत्रमा करिअर अघि बढाउँदैछन् । बल्छी धुर्बे फिल्म्स प्रालिले निर्माण गर्ने गोबर गणेशका लागि चलचित्र विकास बोर्डले निर्माण इजाजत दिइसकेको छ । फिल्मको कलाकारमा माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे ‘पुकु’ र पदम तामाङ तय भएका छन् । फिल्मको लिड हिरोइन तय हुन बाँकी र खोजी भैरहेको बताएका बल्छी धुर्बे आफैँ भने फिल्ममा देखिने छन् वा छैनन् भन्नेबारे खुलाएका छैनन् ।
कलाकार पूजन घिमिरे ‘पुकु’को रुपमा चर्चित छिन् भने पदम ‘होस्टेल ३’बाट दर्शकको मन जितेका कलाकार हुन् । पुकु र बल्छी धुर्बेको सहकार्य ‘जुठे’ र ‘हल्का रमाइलो’ जस्ता सिरियलमार्फत पहिले देखि नै चर्चामा रहँदै आएको छ । आगामी फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको गोबर गणेश भदौदेखि फ्लोरमा जाने र यसको निर्माणमा दुई करोड बजेट खर्च गरिने कलाकार बल्छी धुर्बे बताउँछन् ।
‘मेरी बास्सै’ बाट चर्चामा आएका बल्छी धुर्बे पछिल्लो समय ’हल्का रमाइलो’ र ’जुठे’ सिरियलमा ब्यस्त छन् ।


