७ जेष्ठ २०८३, बिहिबार 1779399452
राजनीति

देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन्।

सभापति देउवाले बिहीबार काठमाडौं बोलाएर लामासँग भेट गरेका थिए। भेटमा देउवाले पार्टीभित्रको विवादलाई चाँडै समाधान गर्दै लोकतान्त्रिक विधिबाट आएको निर्णयलाई स्वीकार गर्न सुझाव दिएका थिए।

‘पार्टीभित्रको कुरा धेरै नलम्ब्याऔं, कसैलाई फाइदा नहुने खालको विवादमा नअल्झिऔं,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै एक नेताले जानकारी दिए।

देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टोलीसँग छलफल गरेर मात्रै अन्तिम निर्णय लिने बताएका छन्। उनले पदबाट हटेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी गरिन्छ भन्नेबारे सभापति देउवालाई सोधेका थिए। जवाफमा देउवाले ‘सबैलाई मिलाएर जानुपर्छ’ भन्ने स्पष्ट निर्देशन दिएका थिए।