काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले नेपालको महाकाली नदी पूर्वका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौता गर्ने विषय स्वीकार्य नभएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभामा आकस्मिक, सुन्य र विशेष समयमा बोल्दै दलका नेताहरूले भने, ‘हाम्रो भूमि भारत र चीनले उपभोग गर्ने विषय स्वीकार्य छैन ।’
सांसदहरूले भारत र चीनलाई नेपालको भूमिमा व्यापार गर्न दिन नदिइने बताए । उनीहरूले यसबारे कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । बैठकमा प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने बताए । नेपालको सहभागिताबिना भारत र चीनबिच भएको सहमति स्वीकार्य नहुने भन्दै यस विषयमा उग्र राष्ट्रवाद देखाउन आवश्यक नरहेको थापाको भनाइ थियो । थापाले नेपालको भूमिमाथि धावा बोल्ने कार्यविरुद्ध सबै राजनीतिक दलहरूले एक ठाउँमा उभिएर सन्देश दिनुपर्ने धारणा राखे ।


