काठमाडौं । लामो समयदेखि दुग्ध उत्पादक किसानहरूले उठाउँदै आएको बक्यौता भुक्तानीको माग सम्बोधन भएसँगै उनीहरूले सुरु गरेको आन्दोलन स्थगित भएको छ । बुधबार सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाहरूबीच भएको वार्तामा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन् ।
केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन लगायत संस्थाहरूले किसानको अर्बौं बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलनमा उत्रेका थिए । सहमतिअनुसार २०८२ असार मसान्तसम्मको बाँकी बक्यौता रकम ५ असोजभित्र भुक्तानी गरिनेछ । त्यसैगरी, साउन महिनासम्मको बक्यौता ३० असोजभित्र चुक्ता गरिनेछ ।
भदौ महिनासम्मको बाँकी रहेको भुक्तानी भने कात्तिक मसान्तभित्र सम्पन्न गर्ने समझदारी भएको छ । थप सहमतिअन्तर्गत दुग्ध उत्पादक सहकारी संघसंस्थाहरूबाट लिइरहेको दूधको परिमाणमा कुनै कटौती नगरी निरन्तर संकलन गरिनेछ ।
साथै, सरकारले तोकेको किसानको दूधको न्यूनतम खरिद मूल्य देशभरिका सबै उद्योगहरूबाट अनिवार्य रूपमा लागु गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।


